Saturday, August 19, 2017  |    

विहारी नेता लालु यादवको वक्तव्यप्रति नेपाल सरकारको ध्यानाकर्षण

प्रकाशित मिति: 2016/02/03

२० माघ, काठमाडौं । नेपाल सरकारले आन्तरिक विषय र गम्भीरतालाई नजर अन्दाज गरी भारतका केही राज्यका नेताका तर्फबाट आएको भनिएको सार्वजनिक वक्तव्यप्रति ध्यानाकर्षण भएको जनाएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गरी आजका विभिन्न पत्रपत्रिकामा भारतको विहार राज्यका नेताले नेपालको आन्तरिक मामिलाका विषयमा दिनुभएको भनिएको वक्तव्यप्रति ध्यानाकर्षण भएको जनाएको हो । नेपालको आजको धरातलीय यथार्थता र दुई देशको आधारभूत चासोविपरीत आएका यस्ता वक्तव्यले दुई मुलुकको समान चासो र भावनालाई टेवा पु¥याउन नसक्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ ‘‘धरातलीय यथार्थविपरीत आएका त्यस्ता धारणाप्रति नेपाल सरकार खेद प्रकट गर्दछ ।

तराई मधेसमा आन्दोलनरत सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी तथा सद्भावना पार्टीका नेताहरु –उपेन्द्र यादव, राजेन्द्र महतोलगायतले भारतीय नेता लालुप्रसाद यादवसँग हिजो भेटगरी आफूले जारी राखेको आन्दोलनमा सहयोग गर्न आग्रह गरेको पत्रपत्रिकामा उल्लेख भएको थियो । दुई देशबीच रहँदै आएको सुमधुर सम्बन्धलाई कायम राख्न कोही कसैले पनि यस्ता वक्तव्यबाजी नगर्न नेपाल सरकारले आग्रह गरेको छ । द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन सबैको सकारात्मक योगदान र चासो रहनुपर्नेमा पनि परराष्ट्र मन्त्रालयले जोड दिएको छ ।

तपाईंको बिचार