Monday, December 11, 2017

राजपरिवार सदस्य मारिएको १४ वर्षपछि बन्यो शालिक

प्रकाशित मिति: 2016/02/04

काठमाडौँ ।  १४ वर्षअघि नारायणहिटी दरबार हत्याकान्डमा मारिएका राजपरिवारका एक सदस्यको शालिक राष्ट्रपति विद्या भण्डारीले अनावरण गरेकी हुन् ।

भण्डारी राष्ट्रपति भएपछि बुधबार गरेको पहिलो पोखरा भ्रमणको क्रममा कुमार खड्ग विक्रम शाहको शालिक  अनावरण गरेकी हुन्।

२०५८ जेठ १९ गते नारायणहिटी दरबारमा आयोजित रात्रिभोजका क्रममा तत्कालीन युवराज दीपेन्द्रले चलाएको भनिएको गोलीबाट मारिएका नौ जनामध्ये एक कुमार खड्ग विक्रम शाह पनि थिए। उनी अधिराजकुमारी शारदाका पति थिए।

हत्याकान्डबारे छानबिन गर्न बनेको उच्चस्तरीय समितिको प्रतिवेदनमा तत्कालीन शाहज्यादा पारसले राजा वीरेन्द्रपछि पहिलो गोली नै कुमार खड्ग विक्रमलाई हानिएको बताएका थिए। प्रतिवेदन अनुसार घटना भएकै राति ९ः३५ बजे सैनिक अस्पतालमा उनलाई मृत घोषित गरिएको थियो।

पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा निर्मित शाहको अर्धकदको शालिकमा राष्ट्रपति भण्डारीले माल्यार्पण पनि गरेकी थिइन्। नेपालको पर्वतीय पर्यटनमा विशिष्ट योगदान गरेको भन्दै शाहको शालिक संग्रहालय परिसरमा राखिएको हो। पूर्व राजपरिवारका सदस्यसँगै राष्ट्रपतिले स्व. दावा नोर्बु शेर्पा र स्व. डा. हर्क गुरुङको प्रतिमा पनि अनावरण गरेकी थिइन्। 

तपाईंको बिचार