Friday, March 24, 2017  |    

पशुपति आर्यघाटमा ​कोइरालाको अन्त्येष्टि हुँदै, शवयात्र सुरु हुँदै

प्रकाशित मिति: 2016/02/10

माघ २७, काठमाडौं । सोमबार राती निधन भएका नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ।

बुधबार दिउँसो २ बजे काठमाडौंको दशरथ रंगशालाबाट शवयात्रा गरी कोइरालाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। दशरथ रंगशालाबाट थापाथली, रामशाहपथ, कमलपोखरी, ज्ञानेश्वर, रातोपुल, गौशाला हुँदै आर्यघाटसम्म शवयात्राको रुट सरकारले तय गरेको छ।

नेपाली कांग्रेसले कोइरालाको दाहसंस्कार हालै आर्यघाटमा सञ्चालनमा आएको विद्युत् शवदाह गृहमा गर्ने निर्णय गरेपनि परिवारजनको इच्छाअनुसार हिन्दू परम्पराअनुसार नै दाहसंस्कार गरिने उनका भाइ अशोक कोइरालाले जानकारी दिए। कोइरालालाई भतिज अतुल कोइरालाले दागबत्ती दिने परिवारजनले बताएको छ।

मंगलबार रातभर रङ्गशालामा राखिएको कोइरालाको पार्थिव शरीरलाई कांग्रेसले नेपाल सरकारको जिम्मा दिएको पार्टी कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए। कोइरालाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने सरकारले निर्णय गरेको छ।
श्रद्धाञ्जली दिन जिल्लाबाट आइपुगे कार्यकर्ता

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालालाई श्रद्धाञ्जलि दिन बुधबार बिहानैदेखि दशरथ रङ्गशालामा सर्वसाधारण र शुभेच्छुकको लाइन लागेको छ।

नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनका लागि जिल्लामा रहेका नेता तथा कार्यकर्ताहरु काठमाडौँ आउन थालेपछि घुइँचो बढेको हो। कोइरालाको गृहजिल्ला बाँके, बाग्लुङ, चितवनलगायत जिल्लाबाट सर्वसाधारणहरु आउनेक्रम जारी रहेको छ।

मङ्गलबार बेलुकादेखि नेपाल सरकारको जिम्मामा रहेको बाकसभित्र रहेको शवलाई श्रद्धाञ्जलि दिन आज बिहान ९ बजेदेखि बाकसबाट बाहिर निकालिएको थियो। उनको अन्त्येष्टि राजकीय सम्मानका साथ आजै पशुपति आर्यघाटमा हुँदैछ। रासस 

तपाईंको बिचार