Friday, July 28, 2017  |    

सङ्घीयता खारेजीका लागि आन्दोलनको घोषणा

प्रकाशित मिति: 2016/02/22

राष्ट्रिय जनमोर्चाले सङ्घीयता खारेजीका लागि आफै सहभागी सरकार विरुद्ध आन्दोलन गर्ने भएको छ । आइतबार राती लुम्बिनीमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनले चित्र बहदुर केसीलाई पार्टि अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । यस्तै सम्मेलनले कार्यकारी अध्यक्षमा रश्मीराज नेपाली, उपाध्यक्षमा बद्रे आलम र दुर्गा पौडेल, महासचिवमा जनकराज शर्मा, सचिवमा हेमलाल पुरी, कोषाध्यक्षमा ओमबहादुर केसीलाई निर्वा्चित गरेको छ । जनमोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनले सङ्घीयताकै कारण देशमा जातीय द्वेष र विग्रह उत्पन्न हुने अवस्था रहेको भन्दै सङ्घीयता खारेजीका लागि आन्दोलन चर्काउने निर्णय गरेको हो । सरकारमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी उपप्रधान तथा सहकारी तथा गरिबी निवारण मन्त्री रहेका छन् । सम्मेलनले प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनसहितको एकात्मक प्रणाली स्थापनाका लागि जोड दिनेसहितको अध्यक्षको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । सङ्घीयताले नेपाललाई नै विखण्डन गर्ने भन्दै सबै प्रतिनिधिले सङ्घीयताको खारेजी नभएसम्म सङ्घर्ष गरिरहने प्रतिबद्धता पनि जनाएका छन ्। जनमोर्चाले मुलुक असहज परिस्थितिबाट गुज्रिरहेकाले सबै दलहरु एकजुट भएर त्यसको सामना गर्नुपर्ने निर्णयसमेत गरेको छ । सम्मेलनका क्रममा अध्यक्षको प्रतिवेदन, घोषणापत्र र विधानमाथि भएको छलफलका क्रममा लामो समयसम्मको पर्खाइपछि जारी भएको संविधानलाई कार्यान्वयन गर्न सबै दलहरु एकै ठाउँमा उभिनुपर्ने ठहर गरेको हो । नागरिकतासम्बन्धी फितलो व्यवस्था, जनसंख्यालाई पहिलो आधार मानी निर्वाचन क्षेत्र बनाउने प्रावधानलाई हटाउन र प्रवासी नेपालीलाई मताधिकार र प्रतिनिधित्वको व्यवस्था, दलित तथा महिलाहरुलाई बेग्लै आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गर्न समेत माग गरिएको छ । जनमोर्चाले संविधान कार्यान्वयनका लागि दलहरुका बीचमा एकता कामय राख्नका लागि सरकारमा सहभागी भए पनि पार्टीका सिद्धान्त र लक्ष्यहरुमा परिवर्तन नहुने बताएको छ ।

तपाईंको बिचार