Wednesday, April 26, 2017  |    

शशांक र सीतादेवीको राजनीतिक जीवन

प्रकाशित मिति: 2016/03/09

काठमाडौं । कांग्रेसका संस्थापक नेता बि .पी कोइरालाका छोरा हुन् डा. शशांक कोइराला । आँखा रोगविशेषज्ञका रुपमा लामो समय सक्रिय शशांक ११ औं महाधिवेशनपछि पार्टी राजनीतिमा प्रत्यक्ष संलग्न छन् । २०१५ सालमा विराटनगरमा जन्मेका शशांक २०४६ सालको जनआन्दोलनमा चिकित्सकका तर्फबाट सहभागी थिए ।
२०१७ पुस १ मा राजाले जननिर्वा्चित सरकारलाई अपदस्थ गरेसँगै परिवारका अन्य सदस्यसाथ  उनि पनि २०३६ सम्म निर्वासित जीवनमा रहे ।

दिवंगत सभापति सुशील कोइरालाको हेरचाहमा बाल्यकाल बिताएका शशांकले भारतमै अध्ययन पूरा गरेका हुन् ।

१२ औं महाधिवेशनपछि दिवंगत सभापति कोइरालाले आफ्नो उत्तराधिकारीका रुपमा उनलाई अघि बढाउने प्रयासमा थिए तर परिस्थिति अनुकूल नहुँदा पार्टी केन्द्रीय सदस्यकै भूमिकामा सीमित शशांकलाई कांग्रेसजनले कोइराला परिवारको विरासत धान्न सक्ने नेताका रुपमा हेर्ने गरेका छन् । कोइराला परिवारका सबै सदस्यले मोरङलाई आफ्नो राजनीतिक कार्यक्षेत्र बनाउँदै आए पनि शशांक भने नवलपरासी पुगेका छन् । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा शशांक नवलपरासी १ बाट निर्वा्चित भए ।

वि.सं २०१२ मा जन्मेकी सीतादेवी यादव २०४६ बाट राजनीतिक दलमा आबद्ध भइन् । पति चन्द्रनारायण यादवलाई २०५७ सालमा तत्कालीन माओवादीले हत्या गरेपछि उनकै विरासत धान्न  उनि कांग्रेस राजनीतिमा सक्रिय भइन् । त्यसयता उनी निरन्तर सिरहा जिल्ला सभापति बनिन् ।

तीन कार्यकाल जिल्ला सभापति रहिसकेकी सीतादेवी २०६२र६३ को जनआन्दोलनपछि पुनस्र्था्पित प्रतिनिधिसभा सदस्य थिइन् । उनले दोस्रो संविधानसभा निर्वाचनमा सिरहा ३ बाट प्रतिनिधित्व गरिन् । यादवले एक वर्ष भूमिगत जीवनसमेत बिताएकी छन्।

’पार्टीलाई पारदर्शी बनाउँछु’

नवनिर्वा्चित कोषाध्यक्ष यादवले आर्थिक पारदर्शिता र संविधान कार्यान्वयन आफ्नो प्राथमिकता भएको बताएकी छन् । कोषाध्यक्षमा निर्वा्चित भएको घोषणालगत्तै पार्टी केन्द्रीय कार्यालय, सानेपामा छोटो प्रतिक्रिया दिँदै नेत्री यादवले तराईमधेस समस्या समाधान गर्दै संविधान कार्यान्वयनमा लाग्ने प्रण गरिन् ।

’हिसाबकिताब दुरुस्त राख्नेछु,’ उनले भनिन्, ’संविधान कार्यान्वयन र तराईमधेस समस्या समाधान गर्न संविधान संशोधन गराउनु मेरो प्राथमिकता हुनेछ ।’ आफ्नो जितलाई पार्टी नेता तथा कार्यकर्ताले सहिदप्रति गरेको सम्मानका रुपमा लिएको उनले प्रतिक्रिया दिइन् ।

तपाईंको बिचार