Thursday, March 30, 2017  |    

मोर्चाले सरकारलाई दियो एक महिने अल्टिमेटम

प्रकाशित मिति: 2016/03/11

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातबुँदे ध्यानाकर्षण पत्र बुझाउँदै एक महिने अल्टिमटेम दिएको छ ।

मधेसी मोर्चाका नेताहरुले शुक्रबार विहान बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । उसले आफ्ना मागहरु चैत मसान्तसम्म पुरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मधेसी मोर्चाको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री ओलीले आजै साँझ अर्को वार्ता प्रस्ताव गरेका छन् । सदभावना पार्टीका महासचिव मनिष सुमनका अनुसार  ‘प्रधानमन्त्रीले घाइतेले उपचार खर्च नपाएको आदि कुरा धेरै सुनेँ । आजै साँझ ६ बजे सम्वन्धित मन्त्रीहरुसहित वार्ता गरौं भन्नु भएको छ ।’

साँझको वार्तामा कानुनमन्त्री अग्नि खरेल, गृहमन्त्री शक्ति बस्नेत र स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेललाई बोलाइएको छ ।

११ बुँदे माग राख्दै झण्डै छ महिना आन्दोलन गरेको मधेसी मोर्चाले अहिले नाकामा धर्नासहितको आन्दोलन छाडेको छ र स्वरुप परिर्वतन गरेको छ । र, उसले आफ्नो मागलाई पनि ११ वाट सातमा झारे पनि सबै विषय कायमै राखेको छ । उसले पहिलो बुँदामा संविधानका विषय राखेको छ र ११ उपबुँदा राखेर आफ्नो सबै माग दोर्होयाएको छ । मधेसी मोर्चाले संविधानमा भइसकेको संशोधनमा चित्त नबुझाउँदै समानुपातिक समावेशी र निर्वाचन क्षेत्रको माग पनि अघि सारेको छ ।

मधेसी मोर्चाको पहिलो माग मधेसमा दुई प्रदेश छ । राज्य पुनःसंरचना आयोगको प्रतिवेदन तथा विगतमा भएको सम्झौता अनुसार उसले भनेको छ, ‘तराई मधेसमा मेचीदेखि महाकालीसम्म दुई स्वायत्त प्रदेश लगायत ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधारमा अन्य प्रदेशहरु निर्माण गर्नु पर्ने ।’

मौलिक हकमा समानुपातिक समावेशी हुने प्रष्ट व्यवस्थासहित अलग धाराको व्यवस्था गर्नु पर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, बहुभाषिक नीति लगायत छन् । साथै मधेसी मोर्चाले नेपाललाई एकल राष्ट्रको रुपमा नभई बहुराष्ट्रिय राज्यको रुपमा परिभाषित गर्नु पर्ने माग समेत गरेको छ ।

मधेसी मोर्चाले मृतकलाई सहिद घोषणा, घाइतेको उपचार खर्च, निस्पक्ष छानविन आयोग गठन, पक्राउ कार्यकर्ताका रिहाइ र मुद्दा फिर्ताको माग गरेको छ । उसले भूकम्प पीडितको राहत तथा पुनर्निर्माणलाई तीव्रता दिन, कालोबजारी अन्त्य गर्न र आम हड्ताल अवधिभरको कर मिनाहको माग पनि गरेको छ ।

 

तपाईंको बिचार