Tuesday, May 30, 2017  |    

गणतन्त्र दिवस जेठ १५ मा दीपावली गरिने

प्रकाशित मिति: 2016/04/29


बैशाख १७ , काठमाडौं । जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ गतेसम्म तीन दिन देशभित्र र देशबाहिर रहेका नेपाली नियोगहरुमा विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मूल समारोह समितिको बैठकले उक्त निर्णय गरेको हो । 
प्रधानमन्त्रीको अध्यक्षतामा कामु प्रधान न्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, उप्रधानमन्त्रीहरु, मन्त्रीहरु, पूर्व प्रधानमन्त्रीहरुलगायत रहनुभएको मूल समारोह समिति गठन गरिएको छ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईको संयोजकत्वमा मन्त्रालयका सचिव दिनेशकुमार थपलिया, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक, नेपाल टेलिभिजनका अध्यक्ष, गोरखापत्र संस्थानका अध्यक्ष, रेडियो नेपालका कार्यकारी निर्देशक सहितको  प्रचारप्रसार उपसमिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीको संयोजकत्वमा ग्राउन्ड, कवाज, व्यायाम तथा झाँकी व्यवस्थापन उपसमिति र काठमाडौँ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङको संयोजकत्वमा मञ्च सजावट तथा मञ्च व्यवस्था उपसमिति गठन गरिएको छ । बैठकले जेठ १४ गते गणतन्त्र दिवस मनाउन सञ्चारमाध्यमलाई सार्वजनिक अपिल गर्ने, सञ्चारमाध्यमबाट गणतन्त्रसम्बन्धी लेख रचनाको सङ्गालो प्रकाशन गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम तय गरेको छ ।
जेठ १५ गते गणतन्त्र दिवसका दिन सूर्योदयका साथ नेपाली सेनाद्वारा बिगुल बजाउने, तोप र बन्दुकको बढाइँ गर्ने, मठमन्दिर, मस्जिद, बौद्ध विहार, गिर्जाघरलगायतका धार्मिकस्थलमा पूजापाठ तथा प्रार्थनाको कार्यक्रम गरिने छ । सोही दिन बिहान ८ बजे मूल समारोह समितिका अध्यक्ष तथा सदस्यहरु, राजनीतिक दलका नेता, कार्यकर्ता, खेलाडी, मजदुर, किसान, सर्वसाधारण टुँडिखेलमा उपस्थित हुने कार्यक्रम छ ।

 

तपाईंको बिचार