Saturday, August 19, 2017  |    

बजेटपछि एमाओवादीलाई सत्ता हस्तान्तरण गर्ने भद्र सहमति भएको छैन

प्रकाशित मिति: 2016/05/06

वैशाख २४ , काठमाडौं । एकीकृत माओवादीले सरकारको समर्थन फिर्ता लिने निर्णय बदलेसँगै एमाले नेतृत्वको केपी ओली सरकार ढल्नबाट जोगीएको छ । एमाले र एमाओवादीबीच ९ बुदेँ समझदारीपछि सरकार ढल्नबाट बाट त जोगीएपनि यहीबिचमा धेरैले के प्रश्न उठाएका छन् भने बजेट पारित भएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने ‘भद्र सहमति’ भएको छ कि छैन ?

विहीबार राति ११ बज्न लाग्दा बालुवाटारमा सम्पन्न ९ बुँदे लिखित सहमतिबाहेक नेताहरुबीच सत्ता हस्तान्तरणबारे भद्र सहमति भएको भनेर बाहिर चर्चा चलेको छ । नीतिकार्यक्रम र बजेटपछि केपी ओलीले एमाओवादी अध्यक्ष प्रचण्डलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने भनी चलेको चर्चालाई एमालेका नेताहरुले अस्वीकार गरेका छन् । उनीहरुले कागजमा लेखिएभन्दा बढि केही पनि नभएको दाबी गरेका छन ।
 

लिखित समझदारीपत्रको पहिलो बुँदामा राष्ट्रिय सहमतिबारे उल्लेख भए पनि अमूर्त कुरा गरिएको छ । त्यसमा ‘संविधान कार्यान्वयन र आर्थिक सामाजिक रुपान्तरणका लागि अनुकूल वातावरण सिर्जना गर्न राष्ट्रिय सहमतिको सरकार बनाउने पहल गर्ने’ भनिएको छ । एमाओवादीका लागि यही बुँदा आशाको त्यान्द्रो हुन सक्छ । दुई दलबीच ९ बुँदे सहमतिपछि वर्तमान सरकारप्रति एमाओवादीको असझदारी र संशयहरु हटेको व्याख्या एमाले नेताहरुले गरेका छन् । उनीहरुको भनाइमा एमाओवादीको चिन्ता सम्वोधन भइसकेपछि अब सरकार पहिलेभन्दा प्रखर रुपमा अगाडि बढ्नेछ ।

दुई दलबीच भएको समझदारीमा नौलो र एमालेका लागि खासै अप्ठेरो बुँदा केही पनि छैन । एमाओवादीको सबैभन्दा ठूलो चासो द्वन्द्वकालीन मुद्दाहरुलाई ब्यूताउन थालिएकोप्रति थियो ।

नौ बुँदे समझदारीमा पनि शान्ति प्रक्रिया र द्वन्द्वकालीन मुद्दाहरुलाई केन्द्रमा राखिएको छ । नौमध्ये पाँचवटा बुँदा शान्ति प्रक्रियासँग जोडिएका छन् भने अन्य चार बुँदा समसामयिक विषयमा छन् । तेस्रो बुँदामा ‘विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप संक्रमणकालीन न्यायसम्वन्धी कार्य गर्न ठोस कार्यतालिकासहित १५ दिनभित्र कानून संशोधनसहितका प्रक्रिया अघि बढाउने भनिएको छ । समयसीमा तोकिएको भनेको यही एउटा बुँदा हो ।

ओलीको चलाखीपुर्ण कदम
सरकार जोगाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र उनको दल एमालेले निकै सुझवुझपूर्ण र रणनीतिक चाल चलेका छन् । कांग्रेसले प्रधानमन्त्रीको ललीपप देखाएपछि लोभिएका पुष्पकल दाहाल प्रचण्डले अपर्झट प्रधानमन्त्री पदमा आफ्नो दावेदारी प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री ओली त्यसबाट उत्तेजित वा आक्रोशित भएनन् । बरु होसियारीपूर्वक प्रचण्डलाई ‘काउन्टर ललिपप’ देखाइदिए, बजेटपछि म आफैं तपाईंलाई प्रधानमन्त्री बनाउँछु भनेर । प्रचण्डलाई पग्लिन १२ घन्टा पनि लागेन ।

कांग्रेसको ललिपप खाएर प्रचण्ड राष्ट्रिय सहमतिको प्रधानमन्त्री बन्न सम्भव थिएन । त्यो नभएपछि उनले ‘सहमति बमोजिम’ देउवालाई बहुमतको प्रधानमन्त्रीमा स्वीकार्नुपथ्र्यो । अर्कोतर्फ उनी भारतीय रणनीतिको शिकार बनेको आक्षेप उनीमाथि लाग्न थालिसकेको थियो । त्यसैले उनले एमालेको ललिपप स्वीकार्नु उनका लागि स्वभाविक र बुद्धिमत्तापूर्ण निर्णय थियो ।

तर, अन्तिमसम्म आउँदा प्रचण्डले खासै केही हात पार्न सकेनन् । एमालेको प्रस्तावप्रति उनको ढल्काईसँगै कांग्रेस बिच्किएर हिँड्यो । त्यसपछि एमालेसँग टालटुले सम्झौता प्रचण्डका लागि बाध्यकारी बन्न गयो ।  

 

तपाईंको बिचार