Monday, May 29, 2017  |    

फास्ट ट्रयाक स्वदेशी लगानीमा नबनाऊः देउवा

प्रकाशित मिति: 2016/05/10

वैशाख २८ , काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वदेशी लगानीमा फास्ट ट्रयाक बनाउने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । देउवाले यसबारे संसदमा बोल्दै अन्तर्राष्ट्रिय जगतमा गलत सन्देश प्रवाह हुने बताए ।

 सुशील कोइराला नेतृत्वको सरकारले काठमाडौं–निजगढ जोड्ने द्रूतमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार पार्न भारतीय कम्पनीलाई जिम्मा दिएको थियो । डीपीआरपछि फास्ट्र ट्रयाक बनाउने जिम्मा भारतीय कम्पनीलाई दिने कोइराला सरकारको तयारी थियो ।
भारतीयलाई ठेक्का दिलाउने कार्यमा देउवाका नातेदार लगायत सक्रिय थिए । तर, केपी ओली नेतृत्वको सरकारले ल्याएको ०७३/७४ को नीति तथा कार्यक्रममा काठमाडौं निजगढ जोड्ने सडक भारतीय कम्पनीलाई नदिई स्वदेशी लगानीमै बनाउने उल्लेख छ ।

संसद बैठकमा बोल्दै कांग्रेस सभापति देउवाले ग्लोबल टेन्डरबाट अर्कालाई जिम्मा दिइसकेको फास्ट ट्रयाकको कुरालाई नलत्याउन सरकारको ध्यानाकर्षण गराए । राजनीतिक खिचातानीले आफ्नै पालामा सुरु भएका कतिपय विकासका योजनामा अर्बौं रुपैयाँ खर्च भइसक्दा पनि पूरा हुन नसकेको देउवाले बताएका छन । सरकारले ल्याएको नीति तथा कार्यक्रमको कडा आलोचना गर्दै देउवाले ‘म्यादी’ सरकारले ल्याएको बजेट र कार्यक्रम पनि म्यादी नै हुने टिप्पणी गरे ।  
सरकारले राजदूतलाई फिर्ता बोलाएर सहमतिको वातावरण बिगार्न थालेको उनको आरोप थियो ।
 

तपाईंको बिचार