Thursday, March 30, 2017  |    

हिन्द र प्रशान्त महासागरमा नेपाली झन्डा गाडेका पानीजहाज गुडाउँछु :प्रधानमन्त्री

प्रकाशित मिति: 2016/05/17

जेठ ४ , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र नेपालमा पानीजहाज चलाएर देखाउने उदघोष गरेका छन । मंगलबार काठमाडौमा अखिल नेपाल महिला संघको राष्ट्रिय परिषद्को पहिलो बैठक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सामान ढुवानी गर्न नयाँ नाका खोलिने बताउँदै केही समयपछि सरकारले बन्दरगाह आफैं लिने र सञ्चालन गर्ने पनि जानकारी गराए । सरकार आफैले पानीजहाज किनेर तिन दिनमा सामान नेपाल ल्याउन सकिने अवस्थाको सोच आफ्नो रहेको भन्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा हिन्द र प्रशान्त महासागरमा नेपाली झन्डा गाडेका पानीजहाज गुड्ने बताए । 
ओलीले आगामी आर्थिक वर्षमा ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरिने दावी गरेका छन् । चालु आर्थिक वर्षको वृद्धि १ प्रतिशत भन्दा तल खुम्चिने अनुमान गरिएकामा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्ष कम्तिमा ६.५ प्रतिशत आर्थिक वृद्धि हासिल गरेर देखाउने दाबी गरे । कम्तिमा ६.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्नका लागि सरकारले घरघरमा रोजगारी सिर्जना गर्ने गरी बजेट ल्याउने तयारी गरिरहेको जानकारी दिए । उनले आगामी आर्थिक वर्षलाई आर्थिक समृद्धि र उन्नतिको प्रस्थान वर्ष बनाइने बताए । प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले बजेटमार्फत वाहीवाही बटुल्ने कार्यक्रम ल्याउने सुईंको पाएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकार ढाल्ने प्रयासमा लागेको आरोप लगाए । नीति तथा कार्यक्रममा आलोचना गर्ने ठाउँ फेला नपारेर काँग्रेसले महत्वाकांक्षी कार्यक्रम भनेर विरोध गरेको भन्दै सरकार ढाल्ने कांग्रेसको प्रयासलाई सफल हुन नदिने प्रष्ट पारे । कांग्रेसको विरोधका वाबजुद काठमाडौ–तराई फास्ट ट्रयाक सरकारको लगानीमा बनाउने समेत उनले बताएका छन ।
प्रधानमन्त्री ओलीले आफूले पार्टीको प्रमुख तथा मुलुकको प्रमुख कार्यकारीको जिम्मेवारी सम्हालेपछि राष्ट्रिय स्वाभिमानमा कसैले पनि प्रश्न उठाउने नसक्ने अवस्था सिर्जना भएको भन्दै गुटगत भेला गरेर असहयोग नगर्न नेताहरुसँग आग्रह गरे । अखिल नेपाल महिला संघको राष्ट्रिय परिषद्को पहिलो बैठक बुधबारसम्म चल्ने छ । परिषद् बैठकमा देशभरिका २ सयभन्दा बढी महिलाको सहभागिता छ ।

 

तपाईंको बिचार