Monday, August 21, 2017  |    

कर्मचारीको चुनाव गराउन नियमावली संशोधन

प्रकाशित मिति: 2016/05/22

जेठ९,काठमाडौं ।  थ्रेसहोल्ड विवादले स्थगित हुँदै आएको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन चुनाव गराउन सरकारले निजामती नियमावली संशोधन गरेको छ। दस प्रतिशत मत ल्याउनेलाई पनि आधिकारिक युनियनमा प्रतिनिधि बनाउने गरी थे्रसहोल्ड घटाइएको छ।
 
राज्यबाट सेवासुविधा लिएर जनताको सेवा गर्न खटिएका कर्मचारीले दलैपिच्छे टे्रड युनियन खोली राजनीति गरेको भन्दै सरकारले आधिकारिक निर्वाचन गर्न लागेको हो। वैशाख १० मा तोकिएको चुनाव विवादकै कारण स्थगित भएपछि जेठ १९ लाई सारिएको छ। थ्रेसहोल्डलाई कारण देखाउँदै कर्मचारी  युनियन चुनावी प्रक्रियामै सामेल नभएपछि  निर्वाचन दुईपटक स्थगित भइसकेको छ।

नियमावलीमा संशोधनपछि २० प्रतिशत रहेको थ्रेसहोल्ड घटाएर १० प्रतिशतमा झारिएको छ। यसअघि २० प्रतिशत मत ल्याउनेले मात्र आधिकारिक टे्रड युनियनमा प्रतिनिधि हुन पाउने व्यवस्था थियो। थ्रेसहोल्ड हटाउन माग गर्दै चारवटा निजामती टे्रड युनियनका कर्मचारी सिंहदरबारभित्रै धर्ना बसेका थिए। त्यसक्रममा भएको आन्दोलनमा कर्मचारीले निर्वाचन अधिकृतको कार्यालयसमेत तोडफोड गरेका थिए। श्रम विभागअन्तर्गत सातवटा निजामती कर्मचारी टे्रड युनियन रहेकोमा आधिकारिक निर्वाचनमार्फत एउटा मात्र युनियन बनाउने सरकारी योजना छ।

खसेमध्ये १० प्रतिशत मत ल्याउनेलाई युनियनमा प्रतिनिधित्व गराउने गरी नियमावली संशोधन गरिएको निर्वाचन अधिकृत कार्यालयका प्रवक्ता सन्तोषकुमार गिरीले बताए। १९ गते हुने चुनावका लागि आइतबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेको पनि उनले जानकारी दिए।

तत्कालीन एकीकृत नेकपा माओवादीनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती, नेकपा माओवादी क्रान्तिकारीनिकट नेपाल राष्ट्रसेवक कर्मचारी संगठन, सवारीचालक कर्मचारीनिकट राष्ट्रिय कर्मचारी संगठनले चुनावमा भाग लिन अस्वीकार गरेका थिए।

आगामी निर्वाचनका लागि कार्यालयले ७५ जिल्लामा १ सय १४ जना निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ। मन्त्रालय ३१, संवैधानिक अंगलगायत ४२ वटा विभागीयसमेत गरी देशभर १ सय १७ वटा निर्वाचन कार्यालय छन्।

देशभर गरी ८ सय २९ जना कर्मचारी साबिकको काम छाडेर तीन महिनाअघिदेखि निर्वाचन तयारीमा जुटिरहेको प्रवक्ता गिरीले जानकारी दिए। देशभर करिब ८० हजार निजामती कर्मचारी छन्। तीमध्ये करि ५५ हजारले निर्वाचनमा भाग लिने कार्यालयले जनाएको छ। कार्यालयले शनिबार ५४ हजार ९ सय २८ जना निजामती कर्मचारीको नामावली प्रकाशित गरेको छ। कर्मचारी निर्वाचनका लागि राज्यकोषबाट ५ करोड रुपियाँभन्दा बढी खर्च हुँदैछ।

तपाईंको बिचार