Saturday, August 19, 2017  |    

नयाँ शक्ति घोषणा कार्यक्रममा कसले के भने

प्रकाशित मिति: 2016/06/12

जेठ ३०, काठमाडौं ।  बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल घोषणासभामा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालगायतका नेताहरुले शुभकामना दिएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको घोषणासभामा नेपाल र भारतका विभिन्न राजनीतिक दलका नेता, कुटनीतिज्ञलगायतले शुभकामना दिए । घोषणासभामा भारतका राजदूत रञ्जीत रे उपस्थित भए भने चीन र अमेरिकी राजदूतका कर्मचारीमात्रैले सहभागिता जनाए ।

नेताहरुले नयाँ पार्टीले लिएको आर्थिक विकासको नीतिको स्वागत गर्दै राजनीतिक सहकार्यको प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आफ्नो पार्टीबाहेकलाई धक्का दिन सक्ने बताएका छन् ।

दशरथ रंगशालामा जारी नयाँ शक्ति नेपालको घोषणासभामा प्रधानमन्त्री ओलीको वैकल्पिक राजनीतिक दलको सम्भावना रहेको बताए । ‘म यो पार्टीको सम्भावना देख्छु, आग्रह–पूर्वाग्रह राख्दिन,’ शुभकामना मन्तव्य राख्दै उनले भने, ‘एमाले बाहेक अरुलाई धक्का दिन सक्छ ।’

कांग्रेस सभापति देउवाले आर्थिक विकासका लागि नेपालका सबै राजनीतिक दलहरुबीच सहकार्यमा जोड दिए । ‘आर्थिक विकासका लागि स्वदेशी र विदेशी लगानी भित्र्याउनुपर्छ, लगानीको सुरक्षाको वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि सबै राजनीतिक दलहरुबीच समझदारी हुन आवश्यक छ ।’

माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले नेपालको राजनीतिक इतिहासका हरेक दशकमा नयाँ शक्ति जन्मिरहेको उल्लेख गर्दै तर जनताको आशालाई पूरा गर्न भने नसकेको बताए । ‘हरेक दशकमा जनताले विकल्प खोजिरहेका छन्, तर विकल्प सावित भएको छैन,’ उनले भने, ‘नयाँ शक्तिले जनताको आशालाई निराशामा परिणत गर्ने काम नगरोस् ।’

महराले राजनीतिक स्थिरताबिना आर्थिक विकास सम्भव नरहेको बताउँदै सबै दलबीच राजनीतिक सहमतिमा जोड दिए ।

कार्यक्रममा राप्रपा नेपालका नेता सुशील श्रेष्ठले नयाँ शक्ति वैकल्पिक राजनीतिक शक्ति बन्ने बताउँदै शुभकामना दिए । राप्रपा नेता सुनिलबहादुर थापाले पनि नयाँ शक्तिलाई शुभकामना दिए ।

कार्यक्रममा भारतीय नेताहरु डीपी त्रिपाठी, भारतीय पत्रकार आनन्दस्वरुप बर्मा, व्यवसायी योगेन्द शाक्यलगायतले पनि शुभकामना दिए ।

 

 

तपाईंको बिचार