Friday, September 22, 2017

मन्त्रीको स्वागत नगर्दा एलडीओको सरुवा

प्रकाशित मिति: 2016/06/25

असार ११, काठमाडौं ।  उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा बझाङ आउँदा स्वागत सत्कार नगरेको भन्दै बझाङका स्थानीय विकास अधिकारीको सरुवा गरिएको छ । 
असार ४ गते पार्टीको कामको सिलसिलामा मन्त्री थापा बझाङ आएका थिए । उनी आउँदा उनको स्वागतमा जिल्ला भरीबाट आएका नेता तथा कार्यकर्तालाई होटलबास तथा मदिरापानको व्यवस्था नगरेको भन्दै थापाले आफ्ना स्वकीय सचिव दामोदर वाग्लेमार्फत स्थानीय विकास अधिकारी आत्माराम सत्याललाई २४ घण्टाभित्र सरुवा गरिदिने धम्की दिएका थिए ।
उपप्रधान मन्त्रीले जिविसको निरिक्षण गर्दा सत्यालको कार्यशैली चित्त नबुझेकाले सचिवलाई उनको सरुवाको निर्देशन दिएको वाग्लेले बताए । कर्मचारी सरुवा प्रक्रिया नियमित काम भएको भन्दै स्वागत नगरेको निहुँमा कसैको सरुवा नगराएको उनको भनाइ छ ।

 
काठमाडौंबाट मन्त्रीको साथमा आएकाहरूका लागि आफूले सबै खाले व्यवस्था गरेको भए पनि मन्त्रीले भने जति कार्यकर्ताको व्यवस्थापन गर्न नसकेकोमा मन्त्री आफूसँग रुष्ट भएको र आफ्नो सरुवा गराएको हुन सक्ने स्थानीय विकास अधिकारी सत्यालको भनाइ छ ।

एलडीओलाई बिहीबार २४ घण्टा भित्र मन्त्रालयमा हाजिर हुने आदेश प्राप्त भएपछि उनी बरबुझारथ गरी काठमाडौं हिँड्ने तयारीमा जुटेको जिविसस्रोतले जनाएको छ । यता स्थानीय विकास मन्त्रालयका सहसचिव धनबहादुर श्रेष्ठले भने सत्याललाई नियमित कामको सिलसिलामा मन्त्रालयमा बोलाइएको बताए ।  
 
आर्थिक वर्ष सकिन २० दिन मात्र बाँकी भएको अवस्थामा भएको उनको सरुवाले जिल्लाको विकास निर्माण प्रभावित हुने भएको छ ।

तपाईंको बिचार