Thursday, October 19, 2017

सरकार फेर्ने असफल प्रयास पछि प्रचण्ड मन्त्री फेर्ने प्रयासमा

प्रकाशित मिति: 2016/07/09

असार २५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बाक्लो भेटघाटबीच आज साँझ सत्ता गठबन्धनमा सामेल दलका नेताहरुको बैठक बस्ने भएको छ । संविधान कार्यान्वयन र सरकार फेर्न वा नफेर्ने विषयमा विषयमा छलफल गर्न  बैठक बस्न लागेको हो । साथै बैठकले माओवादी केन्द्रका केहि मन्त्री बदल्ने निर्णय समेत गर्ने जानकारी प्राप्त भएको छ ।   

माओवादीका केही नेताबाटै सरकार परिवर्तनको हल्ला चलिरहेका बेला प्रधानमन्त्री ओलीसँग निरन्तरजसो भेट्न पुगेका केन्द्रका शीर्ष नेताहरुले हाल सरकार त्याग्ने योजना नरहेको बताएका छन् ।   शनिवार बिहान पनि माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न वालुवाटार पुगेको थिए । प्रचण्डपछि लगत्तै   ओलीलाई भेट्न माओदावी नेता नारयणकाजी श्रेष्ठ वालुवाटार पुगेको थिए ।   
 
शुक्रवार पनि अध्यक्ष प्रचण्डले दुई पटक प्रधानमन्त्री ओलीसँग भेटेर छलफल गरेका थिए । शुक्रवार बिहान धुलिखेलमा सचिवहरुको कार्यक्रममा प्रधानमन्त्री ओली जानुअघि वालुवाटार पुगेका प्रचण्डले प्रधानमन्त्री धुलिखेलबाट फर्केपछि पनि ओलीसँग भेटघाट गरेका थिए । 

स्रोतका अनुसार भेटमा प्रचण्डले आफ्नो पार्टीले सहमतीय सरकारका लागि पहल गर्ने निर्णय गर्नुको अर्थ स्पष्ट पार्दै त्यसको अर्थ वर्तमान सरकार परिवर्तन नरहेको वताएका थिए । प्रधानमन्त्री ओलीले भने दोहोरो अर्थ लाग्नेगरी सार्वजनिक अभिब्यक्ति दिएर सरकारका कामलाई कमजोर नबनाउन बरु सरकार छोड्ने चाहना भए तत्काल स्पष्ट निर्णय गरेर छोड्न आग्रह गरेका छन् । 
 केही मन्त्री फेरिने
स्रोतका अनुसार प्रधानमन्त्री र प्रचण्डबीचको भेटमा केही मन्त्रीहरु फेर्ने र सरकारका कामलाई प्रभावकारी बनाउने पनि समझदारी भएको छ । माओवादीमा मन्त्री हुन आकांक्षी नेताहरुले बारम्बार सरकार परिवर्तनको कुरालाई लिएर शक्तिकेन्द्रहरुसँग सम्बन्ध राखेको र सरकारमा रहेका केही मन्त्रीहरुको भूमिका प्रभावकारी नभएको निश्कर्षमा पुगेपछि मन्त्रिपरिषद पुनर्गठन गर्ने समझदारी भएको बुझिएको छ । 

तपाईंको बिचार