Thursday, September 21, 2017

दुई तिहाइले अविश्वास प्रस्ताव पारित गराउने कांग्रेसको तयारी

प्रकाशित मिति: 2016/07/20

काठमाडौं । व्यवस्थापिका संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा पेस भएको अविश्वास प्रस्तावलाई दुईतिहाइ मतले पारित गराउन लागिपर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको बैठकले ओली नेतृत्व सरकारको विकल्प खोज्नुपर्ने राष्ट्रिय आवश्यकता रहेको ठहर गरेको हो।

‘ओलीउपरको अविश्वास प्रस्ताव पारित गराउने र नयाँ प्रधानमन्त्रीको निर्वाचन गर्ने लगायत प्रक्रियामा नेपाली कांग्रेस एकताबद्ध भई सक्रिय समर्थन गर्ने निर्णय गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त प्रस्तावलाई अत्यधिक मतले पारित गर्न व्यवस्थापिका संसद्मा रहेका सबै राजनीतिक दललाई हार्दिक आह्वान गर्दछ ।’

कांग्रेस, माओवादी केन्द्र, आन्दोलनकारी मधेस केन्द्रितसमेत १३ दलले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरी साउन ६ गते संसद्मा छलफलका लागि समय तोकेका छन् ।

संविधानअनुसार सरकार गठनका लागि कुनै समस्या नरहेको जनाउँदै कांग्रेसले अविश्वास प्रस्ताव पारित भएपछि मुलुकलाई अन्योलमा नराखी तत्काल नयाँ प्रधानमन्त्री निर्वाचन र मन्त्रिपरिषद् गठन गर्ने कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ । ‘व्यवस्थापिका संसद्मा अविश्वास प्रस्ताव पारित भएपछि नयाँ प्रधानमन्त्रीको निर्वाचन नेपालको संविधानको धारा २९८ र व्यवस्थापिका संसद् नियमावली २०७३ को नियम ४९ बमोजिम सम्पन्न गर्ने विषयमा यो बैठक एकमत छ,’ बैठकपछि कांग्रेसले भनेको छ ।

बैठकमा संविधान मस्यौदा समितिका सभापतिसमेत रहेका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले नयाँ सरकार गठनका लागि संविधानमा स्पष्ट व्यवस्था हुँदाहुँदै राजनीतिक दलले कानुनविद्सँग छलफल गरेर जग हँसाएको आरोप लगाएका थिए । ‘संविधानमा नयाँ सरकार गठन विषयमा प्रस्ट लेखिएको छ ।

बैठकमा सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान कार्यान्वयनका साथै मुलुकको समस्या समाधान गर्न नसकेकाले विकल्प खोजिएको स्पष्ट पारेका थिए । संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेका मधेसकेन्द्रित दलसँग वार्ता र संवादमार्फत् संविधान कार्यान्वयनका साथै भूकम्पप्रभावित जनतालाई राहत दिन नसकेको बताउँदै सभापति देउवाले बैठकमा भने, ‘एमाले नेतृत्वको सरकार हटाउनुपर्ने राष्ट्रिय आवश्यकता महसुस भएको हो ।’

सत्ता साझेदारी गर्दै आएको नेकपा माओवादी केन्द्र सरकारबाट फिर्ता भएपछि नयाँ सरकार गठनको जिम्मेवारी पार्टीको काँधमा आएको जनाउँदै सभापति देउवाले भने, ‘संविधान कार्यान्वयन गर्नुपर्ने राष्ट्रिय जिम्मेवारी बोध भएर माओवादीसँग नयाँ गठबन्धन निर्माणको पक्षमा पुगेका हौं ।’

 

तपाईंको बिचार