Saturday, September 23, 2017

सहयोग निरन्तर जारी राख्ने चीनको प्रतिवद्धता

प्रकाशित मिति: 2016/07/26

साउन ११, काठमाडौं । चीनले नेपालमा केपी शर्मा ओली नेतृत्वको सरकारको बहिर्गमन  पछि पनि निरन्तर सहकार्य हुने जनाएको छ।
मंगलबार चिनियाँ विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्रीले राजीनामा दिएपछि पनि नेपालका सबै पार्टीले राष्ट्रिय स्वार्थलाई अगाडि राखेर स्थायित्वका लागि काम गर्ने आशा गरेको हो।
ओलीको बहिर्गमनसँगै फेरि राजनीतिक अस्थिरता बढ्ने र चीनसँगका सम्झौताहरु कार्यान्वयनमा समस्या आउने चिन्ता व्यक्त भइरहेकै बेला चीनले निरन्तर सहकार्य गर्ने जनाएको हो।

नेपालमा बहुदलीय प्रजातान्त्रिक व्यवस्था सुरु भएयता यसपटक २३ औँ सरकार ढलेको हो।  
गत मार्च (फागुन) मा चीन भ्रमण गरेका ओलीले नेपालले चीनको बन्दरगाहसम्म पुगेर व्यापार गर्न पाउने सम्झौतामा हस्ताक्षर गरेका थिए। यसले नेपालको व्यापारिक मार्गमा भारतको एकलौटीलाई अन्त्य गरेको थियो।

चीनको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एक छिमेकी र साथीको रुपमा चीन के आशा गर्दछ भने नेपालका सबै पार्टीले राष्ट्र र जनताको स्वार्थलाई प्राथमिकतामा राख्नेछन् र आफूलाई नेपालको स्थायित्व र विकासका लागि समर्पित गर्नेछन्।’

‘चीन र नेपाल फरक परिस्थितिहरुमा सँगै रहदैँ आएको छ, र घरेलु तथा अन्तर्रा्ष्ट्रिय परिस्थितिमा फेरबदल भए पनि चीन र नेपाल बीचको मित्रता र परस्पर लाभदायक सहयोगमा कुनै परिवर्तन आउनेछैन’ वक्तव्यमा उल्लेख छ। 

आइतबार प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि चीनले पहिलोपटक वक्तव्य जारी गरेको हो।

सरकारविरुद्ध अविश्वासको प्रस्ताव नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस लगायत दलले दर्ता गरेका थिए। अघिल्लो वर्ष ओलीको नेतृत्वलाई समर्थन गरेको माओवादी केन्द्रले शक्ति बाँडफाँडलगायतका सहमतिमा सम्मानजनक व्यवहार नगरेको आरोप लगाउँदै सरकारबाट फिर्ता भएको थियो। 

 

तपाईंको बिचार