Sunday, March 26, 2017  |    

शीर्ष नेताद्वारा साझा रोडम्याप तयारीमा

प्रकाशित मिति: 2016/08/02

साउन १८, काठमाडौं । मधेसी मोर्चा र कार्यदलबीच सोमबार मध्यरात भएको सहमतिमा साझा ‘रोडम्याप’ तयार पार्न संसद भवन नयाँ बानेश्वरमा सत्ता साझेदार दल र मोर्चाका शीर्ष नेताको सहभागी बैठक सुरु भएको छ। शीर्ष नेताहरुले सहमतिलाई अनुमोदन गरिसकेपछि लिपिवद्ध गरी सहमति पत्र सार्वजनिक हुने जनाइएको छ।

हिजो मध्य रातसम्म बसेको कांग्रेस, माओवादी केन्द्र र मोर्चाको बैठकमा प्रदेशको संख्या र सीमानाबारे नेताहरुको मत बाँझिएको थियो । मोर्चाले पेश गरेको सर्तका अरु सबै बुँदामा सहमति कायम भएपनि प्रदेशको संख्या र सीमानाबारे मत बाँझिएकोले मंगलबार विहानको शीर्ष नेता बैठकले टुंग्याउने गरी सोमबार मध्यरात बैठक सम्पन्न भएको थियो।

संघीयताको विषयसँग जोडिएको प्रदेशको संख्या र सीमा कार्यदलले सामाधान गर्न नसक्ने एउटा पक्ष र अहिले सहमति पत्रमै यो कुरा उल्लेख गरिनुपर्ने अर्को पक्षबीच कार्यदल बैठकमा मत बाँझिएको थियो । ‘मगलबार बिहानको शीर्ष नेता बैठकमा सहमतिले लिखित स्वरुप पाउँछ, संयुक्त मोर्चाका अनुसार मागमा सहमतिपछि प्रधानमन्त्रीमा पुष्पकमल दहाललाई मतदान गर्ने बुँदामा पनि लिपिबद्ध हुन्छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेसी मोर्चाका उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका शीर्ष नेताबीच संसद भवनमा सहमतिलाई अन्तिम रुप दिन कसरत जारी छ।

तपाईंको बिचार