Tuesday, June 27, 2017  |    

नेविसंघ प्रतिनिधि चयनमा पौडेल पक्षको असन्तुष्टि, निर्वाचन तालिका प्रभावित हुने आशंका

प्रकाशित मिति: 2016/08/14

श्रावण ३०, काठमाण्डौ । नेविसंघ महाधिवेशनमा जारी प्रतिनिधि विवाद पुनः बल्झिएसँगै निर्वाचन तालिका प्रभावित हुने आशंका बढेको छ । 
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडल पक्षले नामावली प्रकाशन हुँदा व्यापक हेरफेर भएको भन्दै निर्वाचन प्रकृया अघि नबढाउन सभापति शेरबहादुर देउवासँग आग्रह गरेको छ । सो पक्षबाट निर्देशक समितिमा सदस्य रहेका गोविन्द भट्टराई र गुरुराज घिमिरेले पनि विज्ञप्ति निकाली संख्या बढाएको भन्दै असन्तुष्टि जनाएका छन् । निर्देशक समितिमा रहेका अर्का एक सदस्यका अनुसार हिजोको बैठकमा घिमिरेले आफूलाई पनि प्रतिनिधि सदस्यमा केही प्रतिशत हिस्सा दाबी गरेका थिए ।   यस्तै विद्यार्थी नेताहरु मनोजमणि आचार्य, निलकण्ठ रिजाल, पदमराज पन्त, विनिता अधिकारी, आनन्दराज त्रिपाठी, क्षितिज भण्डारी र दिपक भट्टराईले संयुक्त विज्ञप्ति निकाली सार्वजनिक नामावलीप्रति असहमति जनाएका छन् ।    
 
नेविसंघ अध्यक्ष रञ्जित कर्णले हिजो राति ३ हजार ७ सय ६० जनाको नामावली निर्देशक समितिलाई र निर्देशक समितिले निर्वाचन समितिलाई हस्तान्तरण गरेपछि आजबाट प्रतिनिधि परिचय पत्र बाँड्ने कार्यक्रम थियो । 
कांग्रेस मुख्यालय सानेपाबाट ३ बजेसम्म प्रतिनिधि परिचयपत्र बाँड्ने कार्यक्रम रहेकोमा हालसम्म एक हजार जनाले मात्रै परिचयपत्र बुझेको निर्वाचन समितिका संयोजक भरत खरेलले जानकारी दिनुभयो । विद्यार्थीहरुले निर्वाचनका लागि मनोनयन पत्र समेत बुझेर लगिसकेकाले कार्यतालिका प्रभावित नहुने उहाँको दाबी छ । यद्यपी तिनदिनमा सक्ने भनीएको महाधिवेशन आज आठौ दिनसम्म आईपुग्दा पनि अन्यौल थप लम्बिदै गएको छ ।  

 

तपाईंको बिचार