Thursday, September 21, 2017

८५ प्रतिशत गाडीले असुल्छन तोकिएभन्दा बढी भाडा/दैनिक ९० लाख ठगी

प्रकाशित मिति: 2016/08/17

भदौ १, काठमाडौं । काठमाडौं उपत्यकाभित्र चल्ने र काठमाडौंबाट बाहिरिने ८५ प्रतिशत सवारीले तोकिएको भन्दा बढी भाडा यात्रुसँग असुल्ने गरेको पाइएको छ । सरकारले खटाएको विशेष अनुगमन टोलीले एक दिन गरेको अनुगमनमा ८५ प्रतिशत सवारीले तोकिएको भन्दा बढी भाडा लिएको भेटिएको हो ।
मंगलबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले गरेको अनुगमनमा छड्केमा परेका २१ सवारीमध्ये १७ वटाले यात्रुसँग तोकिएकोभन्दा बढी भाडा असुलेको भेटिएको हो । बढी भाडा लिने सवारीबाट बढी असुलिएको भाडा तुरुन्तै फिर्ता गराइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए ।
 
चाडपर्व नजिकिँदै गर्दा काठमाडौंका विभिन्न नाका हुँदै बाहिरिने गाडीहरुले यात्रुसँग दोब्बरभन्दा बढी भाडा असुल्ने क्रम तीव्र भएको छ ।
बढि भाडा लिने ४ वटा सवारीलाई ५ हजार रुपैयाँ जरिवाना गराइएको श्रेष्ठले बताए । ‘यात्रुले तोकिएको भाडा तिरेर चढेको थोरैमात्रै भेटियो । अधिकांश सवारीले उच्चदरमा भाडा असुलेका छन् ।’

दैनिक ८० देखि ९० लाख ठगी

गएको माघ २४ गतेदेखि सरकारले नयाँ भाडादर लागु गरेको थियो । सरकारले उपत्यका भित्र न्युनतम भाडादर १३ रुपैयाँ र अधिकतम २४ रुपैयाँ तोकेको छ । तर सबै जसो गाडीले खुद्रा पैसा नभएको बहानामा १३ रुपैयाँ भाडा लाग्ने रुटमा १५ रुपैयाँ लिन्छन् ।

यसरी तोकिएको भाडा दर कार्यान्वयन नहुँदा उपत्यकामा दिनहुँ झण्डै ८० देखि ९० लाख रुपैयाँका दरले गाडीले ठगी गरिरहेको अनुमान गरिन्छ ।
१५ रुपैयाँ तिर्न बानि परिसकेका यात्रुहरुले दुई रुपैयाँ फिर्ता पनि माग्न छाडिसकेका छन् । यात्रुले पनि नमाग्ने र सवारीमा सहचालकले पनि फिर्ता नगर्ने परिपाटीले ठगीको दर उच्च छ । यात्रुले पनि खुद्रा पैसा नबोक्ने प्रवृत्तिले ठगीलाई प्रोत्साहन गरेको छ ।

यस्तै उपत्यकामा चल्ने भाडाका ट्याक्सीले मिटरमा चल्न नमान्ने प्रवृत्ति बढ्दो छ । आफूले मागेजति भाडा नदिएसम्म यात्रु हाल्नै नमान्ने ट्याक्सीलाई कारवाही गर्न सरकारले प्रभावकारी कदम चालेको छैन । गाडी भाडा लागू भएनभएको अनुगमन गर्ने यातायात व्यवस्था विभाग भने यो सबै थाहा पाएर पनि हात बाँधेर बसेको गुनासो पीडित यात्रुहरुको छ ।
 

तपाईंको बिचार