Monday, May 29, 2017  |    

कांग्रेसबाट आज को–को मन्त्री बन्दै

प्रकाशित मिति: 2016/08/22

भदौं ६, काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले मन्त्रिपरिषदमा आफ्नातर्फबाट नामावली पठाउने अन्तिम तयारी गरेको छ । सभापति शेरबहादुर देउवानिकट एक नेताले आफ्ना केही मन्त्रीको नाम सोमबारै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाउने तयारी भइरहेको खुलाए। वरिष्ठ नेता रामचन्द्र पौडेलसँग परामर्श गर्न बाँकी रहेकाले आज मन्त्रिपरिषद्मा चार वा पाँच सदस्यमात्रै जान सक्ने ती नेताले जनाएका छन्। दाहाल मन्त्रिपपरिषदमा कांग्रेसले १२ वा १३ मन्त्रालय पाउने दुई सत्तारुढ दलको समझदारी छ ।

‘भदौ ८ गते सभापतिज्यू देउवा उपचार फ्लो अपका लागि सिंगापुर उड्ने भएकाले त्यसअघि नै पार्टीका तर्फबाट सरकारमा जाने अरु नेताको नामसमेत टुंगो लाग्नेछ ।

कांग्रेसले आज पठाउने भनिएका नाममा अर्जुननरसिंह केसी, प्रकाशशरण महत र केशवकुमार बुढाथोकीको चर्चा छ। अघिल्लो पटक चर्चा गरिएका शेखर कोइराला भने सूचीमा पर्ने छैनन्। कोइरालालाई परराष्ट्र मन्त्रालय दिन देउवा सहमत भए उनको नामसहित अरु नाम पौडेल पक्षले एकै पटक पठाउने बुझिएको छ।

अरु मन्त्रीबारे मोटामोटी टुंगो लागे पनि महिला, मधेसीलगायत समानुपातिक प्रतिनिधित्व मिलाउनुपर्ने शर्तले गर्दा पौडेल पक्षसँग समन्वय गरेपछि मात्रै सार्वजनिक गर्ने देउवाको तयारी छ। ती नेताले पौडेल पक्षबाट ६ मन्त्रालयको दाबी आएकाले छलफल बाकी रहेको खुलाए ।

 

तपाईंको बिचार