Thursday, October 19, 2017

कार्कीको महाअभियोगमा भारतीय राजदुत सक्रिय बन्दै

प्रकाशित मिति: 2016/10/21

कार्तिक ५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई बचाउन नेपालका लागि भारतीय राजदूत रन्जित रे कूटनीतिक मर्यादाविपरीत प्रधानमन्त्री र प्रमुख दलका नेताहरु सँगको भेटाघाटमा तिब्रता भएको छ ।

राजदूत रेसँगै कांग्रेस सांसद अमरेशकुमार सिंहलगायत अन्य नेता लोकमानको बचाउ अभियानमा सक्रिय भएको स्रोतले दाबी गरेको छ। व्यवस्थापिका संसद्मा बुधबार महाअभियोग दर्ता भएपछि मात्रै रेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बालुवाटारस्थित सरकारी निवासमा दुईपटक भेटिसकेका छन्। दुवै भेटमा रे र दाहालबीच ४५ मिनेट लामो वार्तालाप भएको थियो।

दर्ता प्रस्तावमा हस्ताक्षर नगरेको नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवालाई रेले बिहीबार भेट गरेका छन्। स्रोतका अनुसार दुवै भेटको एजेन्डा लोकमानको बचाउ वा नसके सुरक्षित अवतरण रहेको छ।

भारतीय संस्थापन पक्षले लोकमानको बचाउभन्दा समयानुकूल निर्णय र अवस्थालाई अवसरका रूपमा उपयोग गर्ने रणनीति तय गरे पनि राजदूत रे भने उनलाई यथावत राख्न नसके सुरक्षित अवतरणको लबिङमा लागेको हो ।

लोकमानले प्रधानन्यायाधीश सुशीला कार्कीको कार्यकाल अवधिभर मुद्दा लम्ब्याउने तयारी गरेको जानकारी दिल्ली पठाए पनि बुधबार कार्की फर्केलगत्तै महाअभियोग दर्ता भएको थियो।

बुधबार रातिको भेटपछि बिहीबार अपराह्न रे र सिंहसहित अन्य तीन व्यक्तिको समूहले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेट गरेको थियो। स्रोतका अनुसार रे बालुवाटार पुगेको केही समयपछि सिंह तीनजना व्यक्तिसहित बालुवाटार पुगेका थिए।

बालुवाटारबाट सोही समूह नारायणस्थानस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेको थियो। समूहले दाहाल र देउवालाई भेटेर लोकमानलाई बचाउ गर्ने अवस्था नभए केही समय प्रक्रिया रोक्दै राजीनामा दिने र सुरक्षित अवतरण गराउने पहल गरेको छ। रेको प्रस्तावअनुसार प्रधानमन्त्री दाहालले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित अन्य दलका नेतासँग भेतवार्ता गरिरहेका छन्।

 

तपाईंको बिचार