Saturday, August 19, 2017  |    

पारिश्रमिकसम्बन्धी विधेयक स्वीकृत

प्रकाशित मिति: 2016/11/14

कात्तिक २९, काठमाडौं । व्यवस्थापिका–संसदको सोमबारको बैठकले ‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधासम्बन्धी विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीस्कृत गर्‍यो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले सदनसमक्ष प्रस्तुत गरेको उक्त प्रस्तावमाथि सुझाव दिँदै सांसद कृष्णभक्त पोखरेलले ‘सांसद अर्कै लोकका प्राणी र जनता अर्कै भूमिका मानिस हुन् भने जसरी सांसदहरुकोमात्र सुविधा बढाउने ढंगले आएको प्रस्तावलाई संशोधन गर्नुपर्ने’ धारणा व्यक्त गरे ।

सांसद डिल्लीराज काफ्लेले ‘मुलुकभित्र भएका उद्योगधन्दा बन्द गराएर सांसदलाईमात्रै सेवा–सुविधा बढाउने विषय जायज नभएको, महँगी नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारी र कालोबजारीलाई कारबाही’ गर्नुपर्ने बताए ।

सांसद सुबोधकुमार पोखरेलले समयअनुसार संसद पदाधिकारी र सदस्यको जायज तवरले सुविधा उपलब्ध गराउनुपर्ने धारणा राखे ।

रामअयोध्याप्रसाद यादव, विक्रम थापा, बुद्धिराम भण्डारी, प्रेमप्रसाद साह तेली, रुक्मिणी चौधरी, कमला पन्त, श्यामकुमार श्रेष्ठ (काभ्रे), लोकमणि ढकाललगायतका सांसदले २०५२ सालयता सांसद एवं पदाधिकारीको सुविधामा बढोत्तरी नभएको सन्दर्भमा सुविधा बृद्धि मनासिव भएपनि प्रस्तुत् विधेयकले जनभावना सम्बोधन नगरेकाले त्यसमा संशोधन अपरिहार्य भएको बताए ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री नायकले जनताका तहमा विधेयकमाथि प्रश्न उठ्ला भन्ने सांसदहरुको सोच स्वाभाविक भएको बताए ।

उनले धरातलीय यथार्थ बुझेर नयाँ परिवेशमा देशमा केही गरौं भन्ने भावनाका साथ विधेयक प्रस्तुत् गरिएको जानकारी दिए । (रासस)

 

तपाईंको बिचार