Thursday, April 27, 2017  |    

संविधान संशोधनको विषयमा ओली र दाहालबीच करिब ४५ मिनेट भेटवार्ता

प्रकाशित मिति: 2016/11/16

मंसिर १, काठमाडौं । संविधान संशोधनका विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र शीर्ष नेतृत्वबीच कुराकानी भएको छ ।

व्यवस्थापिका–संसद भवन नयाँबानेश्वरमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालका बीचमा बुधबार अपराह्न सो विषयमा कुराकानी भएको थियो ।

करिब ४५ मिनेट भएको कुराकानी सकारात्मक रहेको भेटपछि प्रधानमन्त्री दाहालले सन्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिए ।

प्रधानमन्त्रीले भने–‘एमालेका अध्यक्ष ओलीजीसित संविधान संशोधनको विषयमा सकारात्मकरुपमा कुराकानी भयो, उहाँ यस विषयमा सकारात्मक देखिनुभएको छ ।’

मधेसी मोर्चाले संविधान संशोधनको प्रस्ताव १५ दिनभित्र व्यवस्थापिका–संसदमा प्रस्तुत् गर्न प्रधानमन्त्री दाहाललाई ‘अल्टिमेटम’ दिएपछि सो विषयमा सहमति जुटाउन उनले सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका शीर्ष नेतृत्वबीच कुराकानी तीव्र बनाइरहेका छन् ।

साथै, मधेसी मोर्चाले सरकारलाई संविधान संशोधनको प्रस्ताव छिटो ल्याउन दबाब दिन व्यवस्थापिका–संसदको बैठकसमेत बहिस्कार गर्दै आएको छ । –रासस

 

तपाईंको बिचार