Thursday, November 23, 2017

अंगीकृतलार्इ प्रमुख पद दिने गरी संविधान संशोधन हुँदैनः प्रधानमन्त्री

प्रकाशित मिति: 2016/11/25
१० मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अंगीकृत नागरिकलार्इ प्रमुख पद दिने गरी संविधान संशोधन नहुने बताएका छन् । कास्कीको विकास निर्माणका विषयमा ध्यानाकर्षण गराउन आएको माओवादी केन्द्रको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधान संशोधनबारे अनेकौं हल्ला चल्ने गरेका छन्, ती हल्ला सत्य होइनन् ।’ उनले अघि भने, ‘सरकारले संविधान संशोधन प्रस्तावको तयारी गरिरहेको छ । तर, संविधान संशोधनमा मूख्यमन्त्रीदेखि राष्ट्रपतिसम्मका सबै पदमा वंशजको नागरिक मात्र निर्वाचित हुन पाउने व्यवस्था हुन्छ, अंगीकृतले पाउँदैनन् ।’ अन्तरिम संविधानमा व्यवस्था भए जस्तै ‘कुनै विदेशी महिलाले नेपाली नागरिकसँग बिवाह गरी सम्बन्धित देशको नागरिकता परित्याग गरेपछि नेपालको अंगीकृत नागरिक हुन पाउने’ व्यवस्थालाई समावेश गर्ने गरी संविधान संशोधनको प्रस्तावमा छलफल चलेको उनले जानकारी दिए । उनले भने, ‘नागरिकतामा अरु संशोधन हुँदैन, विदेशी महिलाले नेपाली पुरुषसँग बिहे गरेपछि आफ्नो देशको नागरिकता त्याग्छ भने नेपाली अंगीकृत नागरिकता पाउन सक्नेबारे छलफल चलिरहेको छ ।’ सीमांकनका सम्बन्धमा विगतमा कांग्रेस–एमालेले तयार पारेको सात प्रदेशको प्रस्ताव वरिपरि नै सहमति खोजिने उनले बताए ।

तपाईंको बिचार