Saturday, March 25, 2017  |    

संविधानको किटानी व्यवस्था विपरित संविधान संशोधन : महासचिव

प्रकाशित मिति: 2017/01/01

पुस १७, काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले सरकारलाई संविधान संशोधन प्रस्ताव संसदमा पेश गरेर देखाउन चुनौति दिएको छ। महासचिव ईश्वर पोखरेलले संविधानको किटानी व्यवस्था विपरित गएर सरकारले संविधान संशोधन विधेयक संसदमा पेश गराएको हेर्न आफूहरु आतुर रहेको टिप्पणी गरे। सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले मधेशी मोर्चाको साथ लिएर सोमबार संविधान संशोधन प्रस्ताव संसदमा पेस गराउने तयारी गरिरहेको छ।

महासचिव पोखरेलले आईताबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संविधान संशोधन विधेयक संविधानको धारा २७४ को किटानी व्यवस्थाविरुद्ध रहेको उल्लेख गर्दै संवैधानिक व्यवस्था विरुद्ध सरकार आफैं गएको हेर्न आफूहरु आतुर रहेको प्रतिक्रिया दिए।  उनले सरकार कसरी संबैधानिक व्यवस्था विरुद्ध उभिँदो रहेछ भनेर हेर्न आफूहरु प्रतिक्षारत रहेको पनि स्पष्ट पारे।

महासचिव पोखरेललले संविधानको रक्षा गर्दै देश र जनताको हितका लागि आफूहरु संविधान संशोधन प्रस्तावको विपक्षमा उभिनु परेको प्रष्टिकरण पनि दिए।
महासचिव पोखरेलले संविधान कार्यान्वयन हुन नदिन षडयन्त्र भइरहेको आरोप पनि लगाए। उनले संविधान बन्न नदिने शक्तिहरुले नै संविधान कार्यान्वयन हुन नदिन षडयन्त्र गरिरहेको जिकीर गर्दै त्यस विरुद्ध सबै देशभक्तहरु एकताबद्ध भइरहेको दावी गरे।

उनले निर्वाचन बाहेकका कुनै पनि विषयमा छलफल गर्न नसकिने अडान पनि दोहोर्‍याए। संविधान कार्यान्वयनका लागि सत्तारुढ दलहरु तयार भए आवश्यक छलफलमा बस्न सकिने बताए।

महासचिव पोखरेलले सरकारले देश, जनता र संविधान विपरित संशोधन प्रस्ताव ल्याएकाले त्यसको विरोधमा २२ गते काठमाडौंमा विरोध प्रर्दशन गर्न लागिएको पनि उल्लेख गरे।  

तपाईंको बिचार