Friday, November 24, 2017

भारतमा श्रेष्ठ विभिन्न राजनीतिक दलका नेता तथा वुद्धिजीवीसँग भेटघाटमा व्यस्त

प्रकाशित मिति: 2017/02/14

फागुन ३, नयाँ दिल्ली । नेपालको आन्तरिक मामिलामा भारतले गर्ने हस्तक्षेपको कडा विरोध गर्दै आएका नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ यतिबेला भारतका राजनीतिक दल, वुद्धिजीवी एवं अन्य क्षेत्रका मानिसहरुसँग भेटघाटमा व्यस्त छन् ।

गत शुक्रबारदेखि दिल्ली भ्रमणमा रहेका श्रेष्ठ भारतीयहरुसँग माओवादी पार्टीको सम्वन्ध सुधार गर्ने मिसनमा व्यस्त छन् । तर, उनले आफ्नो अडानलाई भने नफेरेको उनका साथमा रहेका नेताहरुले जानकारी दिएका छन् ।

दिल्लीमा गरेको राजनीतिक भेटघाटमा श्रेष्ठले नेपालको आन्तरिक मामिलामा भारतले गरेको हस्तक्षेप, अहिलेको संविधान संशोधनमा भारतको चासो तथा गत वर्षको नाकावन्दीको विषयमा खुलेर आफ्ना कुराहरु राखेका छन् ।

नेपालका पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले भारतीय नेताहरुलाई नेपालको आन्तरिक मामिलामा ‘माइक्रोम्यानेज’ नगर्न आग्रह गरेका छन् । श्रेष्ठले विभिन्न राजनीतिक दलका नेता तथा वुद्धिजीवीहरुका लागि सोमवार आयोजना गरेको डिनरसहितको भेटघाटमा नेपाल र भारतका वीचमा खुला छलफलको आवश्यकता औल्याउँदै नेपालको आन्तरिक मामिलामा नेपाली जनता र राजनीतिक दलका नेताहरुले नै निर्णय गर्न पाउनुपर्ने धारणा राखे ।

सो डिनरमा नेपालमा लागि पूर्वराजदुत केभी राजन, विपक्षी काँग्रेस आइका नेता मणिशंकर अय्यर, वुद्धिजीवी तथा भारतका पत्रकारहरुको उपस्थिति थियो । उनले सो रात्रीभोजमा गत वर्षको नेपाल–भारत सम्वन्ध तथा अन्य विषयहरुमा आफ्ना धारणा राखेका थिए ।

तपाईंको बिचार