Saturday, July 29, 2017  |    

राप्रपाको आज उम्मेदवारी दर्ता, भोलि निर्वाचन हुने

प्रकाशित मिति: 2017/02/19

फागुन ८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी महाधिवेशनमा नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ । निर्वाचन प्रक्रिया अन्तर्गत आइतबार दिउँसो १२ बजेदेखि उम्मेदवारी दर्ताको कार्यक्रम तय भएको राप्रपाले जनाएको छ ।

शनिबार पारित नयाँ विधान अनुसार अध्यक्षसहित २५ पदाधिकारीको कार्यसमिति गठन हुनेछ । अधिवेशनबाट एक अध्यक्ष, पाँच उपाध्यक्ष, चार महामन्त्री, पाँच सहमहामन्त्री र सात सहायक महामन्त्री चयन हुनेछन् । त्यस्तै, एक–एक कोषाध्यक्ष, प्रवक्ता र दुई सहप्रवक्तासहित १६१ जनाको केन्द्रीय  समिति  रहने छ ।

नयाँ विधानअनुसार पदाधिकारीमा अध्यक्षका लागि मात्रै निर्वाचन हुनेछ । अन्य पदाधिकारीहरु अध्यक्षले मनोनित गर्नेछन् । त्यस्तै, ६० प्रतिशत सदस्यका लागि निर्वाचन हुनेछ भने ४० प्रतिशत मनोनित हुनेछन् ।

अध्यक्षका लागि अहिलेका अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीबीच प्रतिस्पर्धा हुने सम्भावना छ । यसअघि राप्रपाको शीर्ष नेतृत्वले थापालाई अध्यक्ष बनाउने सहमति गरेको थियो । तर, नेता लोहनीले सहमतिप्रति असन्तुष्टि जनाउँदै उम्मेदवारी दिने घोषणा गरेका छन् । तर, अझै पनि लोहनी सहमतिमा आउने दाबी नेताहरूले गरेका छन् ।

तपाईंको बिचार