Friday, April 28, 2017  |    

भारतीय प्रधानमन्त्री मोदीसँग नेता देउवाको भेट काठमाडौँ, साउन १५ गते । पूर्वप्रधानमन्त्री एवम्

प्रकाशित मिति: 2015/08/01


काठमाडौँ, साउन । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ ।

नयाँदिल्लीको सेभेन रेस्कोर्ष रोडस्थित प्रधानमन्त्री निवासमा अपराह्न पाँच बजे प्रधानमन्त्री मोदी र नेता देउवाबीच शिष्टाचार भेट भएको भेटमा सहभागी पूर्वप्रधानमन्त्री देउवा पत्नी एवम् सभासद् डा. आरजु राणा देउवाले राससलाई जानकारी दिनुभयो ।

सो भेटमा दुई मुलुकका आपसी हित तथा सहयोगको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिबारे छलफल भएको थियो ।

भेटमा नेता देउवाले भूकम्पलगत्तै र पुनःनिर्माणमा भारतले नेपाललाई गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभएको थियो ।

नेता देउवाले प्रधानमन्त्री मोदीलाई नेपालको संविधान निर्माणबारे जानकारी गराउँदै विकास निर्माणसम्बन्धी ठूला लगानीका पूर्वाधारमा भारतको सहयोगको अपेक्षा गर्नुभएको थियो ।

प्रधानमन्त्री मोदीले नेपालको संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेकोमा खुशी व्यक्त गर्दै सकेसम्म सबैको सहमतिमा संविधान जारी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

नेपाल संविधान जारी भएपश्चात् छिट्टै शान्ति, स्थिरता र विकासको बाटोमा लम्कने आशा व्यक्त गर्दै प्रधानमन्त्री मोदीले आफूहरूसँग भएको अनुभव नेपालको भूकम्पपछिको पुनःनिर्माणमा सघाउने बताउनुभएको सभासद् डा. राणाले बताउनुभयो ।

यस अघि पूर्व प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग नयाँदिल्लीस्थित राष्ट्रपति कार्यालयमा शुक्रबारै मध्याह्न १ बजे शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

भेटमा दुई मुलुकका आपसी हित तथा सहयोगको सम्बन्ध र नेपालको पछिल्लो राजनीतिबारे समेत छलफल भएको थियो ।

राष्ट्रपति मुखर्जीले विगतमा आफू विदेशमन्त्री भएका बेला सम्झौता भएको बहुउद्देश्यीय पञ्चेश्वर परियोजनाको कार्य हाल अगाडि बढेकोमा खुशी व्यक्त गर्नुभएको सभासद् डा. आरजु राणाले बताउनुभयो ।

नेता देउवाले बिहीबार भारतीय विदेशमन्त्री सुष्मा स्वराज र भारतीय विदेश सचिव एस जयशङ्करसँग भेटवार्ता गर्नुभएको थियो ।

भारत सरकारको निमन्त्रणमा नेता देउवा साताव्यापी भ्रमणका लागि बुधबार नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । रासस

तपाईंको बिचार