Thursday, November 23, 2017

सभामुखद्वारा सहमतिका लागि तीन दलको बैठक आह्वान

प्रकाशित मिति: 2017/06/02

जेठ १९, काठमाडौं । प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउने विषयमा संसदको कार्यव्यवस्था परामर्श समितिमा सहमति जुट्न नसकेपछि सभामुख ओनसरी घर्तीले शुक्रबार दिउँसो ३ बजे शीर्ष नेताको बैठक बोलाएकी छन्। 

कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले सांसदले चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना अघि नबढेसम्म संसद अवरुद्ध गर्ने बताएपछि सभामुख घर्तीले सहमति खोज्न नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको शीर्ष बैठक बोलाएकी हुन्। आइतबार हुने संसद बैठकमा प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउने तयारीमा रहेकी सभामुख घर्तीले प्रक्रिया अघि बढाउने विषयमा सिंहदरबारमा तीन दलसँग छलफल गरेर निर्णय लिने उनको सचिवालयले जनाएको छ। 

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने भरतपुरको विषयमा निर्वाचन आयोग स्वतन्त्र संवैधानिक निकाय भएकाले उसले गरेको निर्णय मान्नुपर्ने बताएका थिए। त्यस्तै राष्ट्रपतिले बहुमतीय सरकार गठन गर्न पत्र पठाइसकेकाले सभामुखले संसदमा प्रक्रिया सुरु नगर्नु राष्ट्रपतिको पत्रको अवमूल्यन गर्नुसरह भएकाले प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउनुपर्ने माओवादी नेताले बताए।

तपाईंको बिचार