Saturday, July 22, 2017  |    

संसदको दोस्रो बैठकले देउवालाई प्रधानमन्त्री चुन्ने, कसरी चुनिदै छन्

प्रकाशित मिति: 2017/06/06

जेठ २३, काठमाडौं । आज बसेको सं‌सदको पहिलो बैठकमा प्रमुख दलका शीर्ष नेताहरुले सम्बोधन गरे पनि प्रधानमन्त्री निर्वाचनको प्रक्रिया भने आजै बस्ने अर्को बैठकमा मात्रै सुरु हुनेछ।

सुरुमा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली, त्यसपछि शेरबहादुर देउवा र अन्तिममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बोधन गर्नुभएको थियो । त्यसपछि सभामुखले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाइन् र कार्यसूचीको १ र २ नम्बरमा रहेको कार्यक्रमलाई अर्को बैठकका लागि सारिन्।व्यवस्थापिका संसदको नियमावलीको नियम ४० बमोजिम बैठकको सुरुमा उम्मेदवारीको सूचना सम्बन्धित उम्मेदवारले बैठकमा प्रस्तुत गरेपछि प्रस्तावक र समर्थक सदस्यले समर्थन गर्नेछन्। 

प्रधानमन्त्री निर्वाचनका लागि शेरबहादुर देउवाको मात्र उम्मेदवारी परेको छ। तर एउटा मात्र उम्मेदवारी परे पनि नियम अनुसार देउवा निर्विरोध भने हुने छैनन्। त्यसैले बैठकमा देउवाले उम्मेदवारीको सूचना प्रस्तुत गर्नेछन्। त्यसपछि प्रस्तावक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समर्थक रामचन्द्र पौडेलसमेत पाँच जनाले समर्थन गर्नेछन्। नियम ४९ को उपनियम ५ बमोजिम सभामुखले उनको उम्मेदवारीलाई बैठकसमक्ष निर्णयार्थ प्रस्तुत गर्नेछिन्।

देउवालाई हुन्छ र हुन्न भन्नेलाई छुट्टै ढोका 
एउटा मात्र उम्मेदवारी दर्ता भएकोले उपनियम ७ आकर्षित हुनेछ। संसदको निर्णय मतविभाजनबाट हुनुअघि सभामुखले संसदबाहिर रहेका सांसदलाई संसद भित्र आउनका लागि तीन मिनेटको जनाउ घण्टी बजाउन लगाउने छिन्। 

तीन मिनेटपछि संसदका सबै ढोका बन्द गरिनेछ। 

देउवाको पक्षमा हुन्छ र हुन्न भन्ने सांसदहरुलाई भिन्नाभिन्नै ढोकाबाट उपकक्ष (लबी) मा प्रवेश गराएर त्यहाँ राखिएको क्रमसंख्या अनुसारको नाममा सांसदहरुले आफ्नो मत जाहेर गर्नेछन्। 

संकलित मतगणनाको परिणाम सभामुखले तत्काल सुनाउने छन्। त्यसपछि देउवा औपचारिक रुपमा प्रधानमन्त्री निर्वाचित भएको घोषणा हुनेछ।

तपाईंको बिचार