Thursday, November 23, 2017

मोदीले देउवालाई किन भेटे भ्रमणको कार्यतालिका विपरीत

प्रकाशित मिति: 2017/08/24

भदौ ८, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजकीय भ्रमणमा आएका नेपाली समकक्षी शेरबहादुर देउवासँग पूर्वनिर्धारित कार्यक्रमअघि नै बुधबार साँझ भेटवार्ता गरे । बुधबार नै दिल्ली आएका प्रधानमन्त्री देउवालाई चियापानका लागि सेभेन रेसकोर्सस्थित आफ्नो निवास बोलाएर मोदीले नेपालसँग सम्बन्ध सुधार भएको स्पष्ट सन्देश दिएका छन् । 

राजकीय भ्रमणको कार्यतालिकाबेगर दायाँ–बायाँ भेट्ने चलन प्रायः हुँदैन । ‘सरप्राइज दिने मोदीजीको विशेषता नै हो, अहिले त्यही गर्नुभएको हो,’ उनीबारे जानकार एक भारतीय अधिकारीले भने । प्रधानमन्त्री देउवा र मोदीबीच बुधबार भेटवार्ता गर्ने पूर्वनिर्धारित कार्यक्रम थिएन । बरु, उनीहरूबीच बिहीबार तीनपटक भेट्ने कार्यक्रम थियो । बिहीबार बिहान ९ बजे राष्ट्रपतिभवनमा आयोजना हुने गार्ड अफ अनरमा, ११ बजेदेखि ११ः३० सम्म सीमित अधिकारीसहितको रेस्ट्रिक्टेड मिटिङमा, दुवै पक्षका १५–१५ जना रहने प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्तामा र त्यसपछि दिवाभोजमा प्रधानमन्त्रीद्वयको भेटवार्ता तय भएको थियो । तर, बुधबार बिहान मोदीले देउवासँग साँझ एक्लै भेट गर्ने इच्छा गरे । त्यसअनुसार भारतस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले त्यसको चाँजो मिलाए ।

‘दुई प्रधानमन्त्रीहरूबीच बिहीबारको छलफलका लागि सहज हुने गरी वार्मअप मिटिङ भएको हो, यस्तो भेटवार्ताले दुई पक्षबीच अड्किएका विषयहरू समाधानका लागि सहयोगी हुने अपेक्षा छ,’ भेटवार्ताबारे नेपाली राजदूत उपाध्यायले भने । उनले मोदीले चियापानका लागि बोलाएका कारण देउवा भेटका लागि गएको बताए ।

‘बिहीबार भेट हुने त छँँदै छ, त्यही पनि अनौपचारिक रूपमा बसौँ, चिया खाउँ भनेर मोदीजीले बोलाएपछि प्रधानमन्त्रीजी जानुभएको हो,’ उपाध्यायले भने । करिब आधा घन्टाको उक्त भेटवार्ताका लागि भारतीय पक्षले बुधबार बिहान मात्रै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायमार्फत अनुरोध गरेको थियो । उपाध्यायले दुई शीर्ष नेताबीचको यस्तो भेटवार्ताले दुवै देशबीच विश्वासको स्तर बढ्ने र राजनीतिक तहमा हार्दिकता थपिने बताए ।

देउवा र मोदीबीच बुधबार नै भेट भएपछि बिहीबार उनीहरूबीच एक्लाएक्लै वार्ता नहुने नेपाली दूतावासका एक अधिकारीले बताए । तर, हैदराबाद हाउसमा दुवै प्रधानमन्त्रीबीच आफूबाहेक दुईजना अधिकारीसहितको बैठक बस्नेछ । सो बैठकमा नेपालबाट परराष्ट्रसचिव शंकरदास बैरागी र भारतका लागि राजदूत दीपकुमार उपाध्याय रहेनछन् भने भारतबाट विदेशसचिव एस जयशंकर र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरी रहनेछन् । उक्त बैठक सकिएपछि बिहान ११ः३० बजे प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता हुनेछ । पञ्चेश्वरलगायत परियोजनाबारे प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्तामा छलफल हुनेछ । –नयाँ पत्रिकाबाट

तपाईंको बिचार