Thursday, November 23, 2017

अब माओवादीले जित्दै जान्छ : प्रचण्ड

प्रकाशित मिति: 2017/08/25

भदौ ९, सुर्खेत ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले अब हार्ने ठाउँ नभएको बताएका छन्। 

उनले संगठन परिचालनमा कमजोरी र नेता गाउँ नपुग्दा हालैको स्थानीय तह निर्वाचनमा हारिएको बताए। पार्टीको प्रदेश नं ६ को प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले पत्रकारसँगको भेटमा माओवादी केन्द्रले हार्नुपर्ने जति हारिसकेको र अब नहार्ने दाबी गरे। 

प्रचण्डले भने,‘ माओवादी एकता र ध्रुवीकरणको प्रक्रियामा छ। हेर्दै जानुहोला, अब माओवादीले जित्दै जान्छ।’ उनले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले मात्र देशमा राजनीतिक स्थिरता दिनसक्ने दाबी गरे। 

संविधान संशोधन विधेयक निर्णयार्थ पेश भइसकेकाले तत्काल संविधान संशोधनको प्रस्ताव नलगिने अध्यक्ष प्रचण्डको भनाइ थियो।  भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको चुनावपछि संविधान संशोधनको प्रस्ताव लगिने भन्ने भनाइप्रति इङ्गित गर्दै अध्यक्ष प्रचण्डले भने,‘ भर्खरै संविधान संशोधन विधेयक संसद्बाट अस्वीकृत भएको छ। अब तत्काल संविधान संशोधन हुँदैन। संविधान संशोधन नेपालको आन्तरिक विषय हो। यसबारे अरु कसैसँग कुरा गर्न आवश्यक पनि छैन।’ 

परिवर्तनलाई स्वीकार गर्न नसक्नेहरु प्रदेश र केन्द्रको चुनाव हुन नदिन लागिपरेकोसमेत उनले बताए। सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको प्रशिक्षण कार्यक्रममा पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक समितिका करिब ५०० सदस्य सहभागी भएका छन्। –रासस 

तपाईंको बिचार