Thursday, November 23, 2017

सरकारले दीर्घकालिन राष्ट्रिय हित विपरित काम गरेको एमालेको आरोप

सभामुख घर्तीद्वारा सरकारको नाममा रुलिङ
प्रकाशित मिति: 2017/09/04

भदौ १९, काठमाडौं । सभामुख ओनसरी घर्तीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नेपालको दीर्घकालिन राष्ट्रिय हित लगायत समसामयिक विषयमा उठाएका सवालबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेकी छन् । 

सोमबारको व्यवस्थापिका संसदको दोश्रो बैठकमा सरकारले नेपालको दीर्घकालिन राष्ट्रिय हित विपरित काम गरेको, प्रशासनलाई स्वईच्छाचारी ढंगले चलाएको, निर्वाचन आचार संहितको उलंघन गरेको, ठुला ठुला भ्रष्टाचारका घटनालाई ढाकछोप गरेको लगायत आरोप लगाउदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको जवाफ माग गरेपछि सभामुख घर्तीले सरकारको नाममा रुलिङ गरेकी हुन् । 

बैठक सुरु भए लगत्तै समय मागेर बोलेका एमाले सांसद भीम रावलले संविधान संसोधनबारे प्रधानमन्त्रीले भारत भ्रमणमा दिएको अभिव्यक्ति, कर्मचारी सरुवा लगायत विषयमा सरकारले जवाफ दिनुपर्ने माग गरे लगत्तै एमाले सांसदहरुले उठेर विरोध गरेपछि सभामुखले अर्को बैठकमा त्यसबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेकी थिइन् ।

सभामुखको रुलिङपछि सुचारु भएको बैठकमा निर्वाचन क्षेत्र निर्धारण समितिको प्रतिवेदन, प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन सम्बन्धी विधेयक प्रस्तुत गरिएको छ । विधेयक र समितिको प्रतिवेदन पेश भएपछि बैठक पुन आधा घण्टाका लागि स्थगित गरिएको छ । 

तपाईंको बिचार