Thursday, November 23, 2017

मधेशी नागरिकले पुनः विश्वास गर्ने : प्रचण्ड

प्रकाशित मिति: 2017/09/15

महोत्तरी । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशी नागरिकसँगको प्रेम सदैव रहने बताएका छन् । महोत्तरीको रामगोपालपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूले मधेससँग गर्दै आएको प्रेम सच्चा रहेको बताएका हुन् ।

उनले केही भिलेनहरुले आफूहरुकोबीचमा दरार बनाउने काम गरिएकोले अब असन्तुष्ट मधेशी नागरिक पुनः आफूहरुमाथि विश्वास गर्दै आएको बताए । आफू प्रधानमन्त्री रहेको समयमा मधेशलाई विश्वासमा लिन र उनीहरुको माग सम्बोधन गर्न तत्पर रहँदै आएको अध्यक्ष प्रचण्डको दाबी छ । प्रधानमन्त्री रहेका बेला मधेशी नागरिकको जायज माग सम्बोधन गर्न अधिक अभ्यास गरेको बताउँदै प्रचण्डले मधेशी दलको असन्तुष्टि सम्बोधन गर्न र चुनावमा ल्याउन आफूले ठूलो भूमिका निर्वाह गरेको दाबी समेत गरे ।

यसअघि अध्यक्ष प्रचण्डले फेरी संबिधान संशोधन प्रस्ताव केन्द्रीय व्यवस्थापिका सदनमा ल्याईने बताएका छन् । धनुषाको सहीद नगरपालिका यदुकुहामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले एमाले र राप्रपाका कारण मधेशी जनताका अधिकार स्थापित गर्न नसकिएको टिप्पणी गरे ।

‘मैले मधेशी जनताका जायज माग पुरा गर्न निकै कोशिश गरे । मतदानमा संशोधन प्रस्ताव लगियो तर पुराना राजामहाराजावादी र परिवर्तन नचाहने पार्टीहरूका कारण पारित गर्न सकिएन ।’ प्रचण्डले भने– ‘अब प्रदेश र केन्द्रमा परिवर्तनकारी शक्तिहरूको बहुमत भएको बेला फेरी प्रस्ताव ल्याएर मधेशी जनताको अधिकारको ग्यारेन्टी गरिनेछ ।’

संबिधान संशोधन प्रस्ताव पारित नभएपनि सबै दललाई निर्वाचनसम्म ल्याई पुरयाउन सफल भएको बताउँदै प्रचण्डले भने, ‘संशोधन प्रस्ताव पारित हुन सकेन तर यो संविधान केही होईन भन्ने होईन, सामाजिक न्याय, समावेशिता, गणतन्त्र, धर्म निरपेक्षता जस्ता कुरालाई यसले संस्थागत गरेको छ । अब प्राप्त उपलब्धिको रक्षा गरेर बाँकी मुद्दालाई संशोधनमार्फत हल गरेर यसको सर्वस्वीकार्यता बनाउन हाम्रो कोशिस हुनेछ ।’

तपाईंको बिचार