Thursday, November 23, 2017

कांग्रेस–माओवादी सत्ता गठबन्धन मुलुक र जनताका लागि घातक : एमाले

प्रकाशित मिति: 2017/09/24


असोज ८, काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा कांग्रेस–माओवादी गठबन्धन भत्काउनुपर्ने सुझाव केन्द्रीय सदस्यहरुले दिएका छन् । अहिलेको सत्ता गठबन्धन राष्ट्र हितविपरीत र सुशासन विरोधी रहेकाले भत्काउनुपर्ने सुझाव नेतृत्वलाई दिएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गरेका ८ वटै समूहबाट गठबन्धन भत्काउन पार्टीले पहल गर्नुपर्ने सुझाव पेश भएको केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए ।

प्रतिवेदनमाथि ७ प्रदेश र एक गैरभौगोलिक प्रदेश गरी ८ समूहमा छलफल भएको थियो । छलफलको निष्कर्ष सुनाउँदै थापाले भने(यो सत्ता गठबन्धन मुलुक र जनताका लागि घातक छ । यसलाई भत्काउनुपर्छ र राजनीतिलाई सही ट्र्याकमा लैजानुपर्छ भन्ने सुझाव आएको छ ।

समूहगत छलफलको निष्कर्ष सुनाउनेमा प्रदेशगत रुपमा एक देखि ८ सम्म क्रमशः शिवमाया तुम्बाहाम्फे, सत्यनारायण मण्डल, काशिनाथ अधिकारी, गणेश तिमल्सिना, दलबहादुर राना मगर, यमलाल कँडेल, भीम रावल र महेन्द्रबहादुर पाण्डे रहेका छन् ।

यो गठबन्धन रहँदा मुलुकमा अराजकता, भ्रष्टाचार, मनपरीतन्त्र बढेको र अदालत लगायत राज्यका संवैधानिक निकायमा समेत हस्तक्षेप भएको भन्दै एमालेले गठबन्धन भत्काउनुपर्ने निष्कर्ष निकालेको हो । केन्द्रीय कमिटी सदस्यहरुको सुझावका आधारमा पार्टीले निर्णय गर्ने सचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

तपाईंको बिचार