Thursday, March 30, 2017  |    

मस्यौदालाई अन्तिम रूप दिन शीर्ष नेता व्यस्त

प्रकाशित मिति: 2015/08/07


काठमाडौँ, साउन २१ गते । संविधानको मस्यौदामाथि जनताले दिएका सुझावलाई अन्तिम रूप दिन प्रमुख चार राजनैतिक दलका शीर्ष नेताहरू बिहीबार पनि जुटिरहनुभएको छ ।

खासगरी संवैधानिक राजनैतिक संवाद तथा सहमति समिति अन्तर्गतको विशेष समितिमा कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनका अतिरिक्त प्रदेशको सङ्ख्या, प्रदेशका सीमाङ्कन जस्ता महत्वपूर्ण विषयमा केन्द्रित रही अहिले चार दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल भइरहेको छ ।

बिहीबार दिनभरमा सहमतिमा पुगिने शीर्ष नेताहरूले जानकारी दिनुभएको छ ।

“जनताले दिएका सुझावलाई समेत समेटी मस्यौदालाई टुङ्ग्याउन शीर्ष नेताका बीचमा छलफल भइरहेको छ,” बैठकबाट एकैछिन बाहिरिनुभएका एकीकृत नेकपा (माओवादी)का नेता डा. बाबुराम भट्टराईले सञ्चारकर्मीसँग भन्नुभयो ।

नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी) र मधेसी जन अधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्षहरू बैठक गरिरहनुभएको छ ।

यसैगरी कार्यदलमा रहनुभएका दोस्रो पुस्ताका नेता तथा विशेष समितिका पदाधिकारीले समानान्तर ढङ्गले काम गरिरहनुभएको छ ।

बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारलगायत सहभागी हुनुहुन्छ । रासस

तपाईंको बिचार