Thursday, November 23, 2017

वाम गठबन्धन एक दलीय निरंकुश कम्युनिष्ट शासन तथा सर्वसत्तावाद प्रयासको थालनी

प्रकाशित मिति: 2017/10/28

पोखरा । नेपाली कांग्रेस कास्कीको आयोजनामा आज पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका शीर्ष नेताले वाम गठबन्धन राष्ट्र र लोकतन्त्रका विरुद्धमा भएको आरोप लगाएका छन् । उनीहरुले वाम गठबन्धन एक दलीय निरंकुश कम्युनिष्ट शासन तथा सर्वसत्तावाद कायम गराउने लक्ष्यका साथ अघि बढाइएको बताए। 

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने प्रयासको थालनी भएकाले सबै लोकतन्त्रवादी एकजुट हुनुपर्ने बताए।

‘वाम गठबन्धनले स्वतन्त्रताको हनन्, अधिनायकवादको थालनी गर्ने जस्ता धेरै डर त्रास यतिखेर सर्वसाधारणमा छाएको छ, प्रधानमन्त्रीले भने,‘ लोकतन्त्रको स्थापना र यसको संस्थागत विकासका लागि निरन्तर संघर्ष गर्दैआएको कांग्रेसले मात्र डर त्रास मुक्तसमाजको निर्माण गर्नसक्छ।’ लोकतन्त्रको रक्षा केवल कांग्रेसले मात्र गर्नसक्ने कुरा नेपाली जनताले बुझेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले अहिलेको निर्वाचन लोकतन्त्रको संरक्षण, विकासवादी सोच र अधिनायकवादी सर्वसत्तावादी सोच बीचको भएको बताए। 

कार्यक्रममा अखण्ड पार्टी नेपालका अध्यक्ष तथा पूर्वमन्त्री कुमार खड्का र उद्योगपति एवं पूर्व सभासद सूर्यबहादुर केसी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। 

वरिष्ठ नेता रामचन्द्र पौडेलले आसन्न संघ र प्रदेशको निर्वाचन लोकतन्त्र जोगाउने की अधिनायकवादतर्फ फर्कने बीचको सिद्धान्तको लडाइँ भएको बताए। 

‘नेपालमा लोकतन्त्रको रक्षा गर्ने चुनौती देखिएको छ,’ उनले भने,‘लामो समयको संघर्ष र सहमतिले बनाएको संविधान उल्टाउने प्रयास भएको छ, दुई तिहाइ ल्याएर संविधान फेर्छौं भन्ने कुरा राम्रो होइन।’ 

संविधानको मौलिक विषयमा प्रश्न उठाउनु देशका लागि अप्रिय भएको भन्दै पौडेलले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेसको विजय हुनु अपरिहार्य भएको बताए । 

महामन्त्री डा शशांक कोइरालाले मुलुकजति समृद्धितर्फ अघि बढ्छ वामपन्थीको शक्ति त्यति घट्दै जाने तर्क गरे। उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले कम्युनिष्ट गठबन्धनमार्फत मुलुकलाई अधिनायकवादतर्पm लान खोजिएको आरोप लगाउँदै काँधमाकाँध मिलाएर सबै प्रजातन्त्रवादी शक्ति एकजुट बन्नुपर्ने बताए। -रासस

तपाईंको बिचार