Wednesday, June 20, 2018

राजपा नेपालको चुनावी घोषणापत्र सार्वजनिक

प्रकाशित मिति: 2017/11/23

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि आज चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। 

महोत्तरीको जलेश्वरमा संयोजक महन्थ ठाकुर, नेता राजेन्द्र महतोको उपस्थितिमा ‘पहिचान, अधिकार र सम्मान, राजपा नेपालको दृढ अडान’ भन्ने चुनावी  नारासहितको घोषणापत्र सार्वजनिक गरिएको हो।  ‘सबैको पहिचान, सबैको अधिकार–राजपालाई मत, एकमात्र अधिकार’ भन्दै राजपाले समुन्नत नेपाल, सम्पन्न नेपाली, सार्थक संविधान, समावेशी राज्य, समतामूलक समाज, सार्वभौम नागरिक भन्ने विषयलाई जोड दिएको छ। 

मधेश, थरुहट तथा पहिचान र अधिकारका लागि भएका हरेक विद्रोह र आन्दोलनका क्रममा शहादत प्राप्त गरेका तथा घाइतेहरुको सपना साकार पार्न नेपालबाट सबैखाले विभेदको अन्त्य गर्दै सबै नेपालीको परिचयलाई सम्मान गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ।

त्यस्तै, सबैको अधिकार सुरक्षित गर्ने, प्रदेशको सीमांकन सच्याउने, र राष्ट्र निर्माणको गहन अभिभारामा सबैलाई समावेश गराउने गरी संविधानलाई पूर्णता प्रदान गर्न र देशमा जारी दशकौं लामो राजनीतिक अस्थिरता र अनिश्चिततालाई सधैंका लागि अन्त्य गर्दै मुलुकलाई शान्ति, समृद्धि र सफलताको पथमा डोर्याउने समावेशी र सक्षम राज्य व्यवस्थाको जग बसाल्न राजपा नेपालको चुनाव चिन्ह छातामा मत हाल्न आह्वान गरिएको छ। 

राजपाले आफ्नो घोषणापत्रमा अतिआवश्यक विषयहरुलाई सर्वाधिक महत्वको सूचीमा राखेको छ। पहिचान, स्थान, अधिकार र स्वाभिमानको संघर्षलाई जारी राख्दै देशको चौतर्फी विकास द्रुत गतिमा हुनुपर्ने भन्दै राजपाले राज्यले होच्याएको, अलपत्र पारेको र पूर्ण रुपमा वेवास्ता गरेको मधेश र थरुहट क्षेत्रको विकासलाई अबको सर्वाधिक प्राथमिकताको विषय बनाउने जनाएको छ।

राजपाले बाढी पहिरोको स्थायी समाधान, हुलाकीमार्ग, थप सडक संजाल र रेल सेवाको विस्तार, काठमाडौं–निजगढ द्रुतमार्ग र निजगढ दोश्रो अन्तराष्ट्रिय विमानस्थल, जनकपुर–अन्तराष्ट्रिय पर्यटन स्थल एवंं विश्व हिन्दु केन्द्र, विरगन्ज–नेपालको आर्थिक कारोवार र व्यापारको प्रमुख केन्द्र, विराटनगर, भैरहवा र नेपालगंज नेपालको आर्थिक विकासको मेरुदण्ड, लुम्बिनी–अन्तराष्ट्रिय बुद्धिष्ट केन्द्रसूचीमा प्रविधि र इन्टरनेट सेवाको विस्तार, युवामैत्री कार्यक्रम, महिलामैत्री कार्यक्रम, किसानमैत्री कार्यक्रम, गरिमैत्री कार्यक्रम, वैदेशिक लगानी आकर्षण र निजीक्षेत्रलाई प्रोत्साहन, शहिद स्तम्भ एवं स्मारक निर्माण र हरेक क्षेत्र, विकास क्षेत्र भन्ने प्रतिबद्धता जनाएको छ। 

राजपाले हरेक वर्ष तराई–मधेसको समथर मैदानमा आउने बाढीको स्थायी समाधानका लागि वैज्ञानिक योजना बनाएर बाँध र कल्भर्ट निर्माण, वर्षायामको पानीको उचित निकास, चुरेभावरको प्रभावकारी संरक्षण एवं व्यापक वृक्षारोपणको कार्यक्रम सञ्चालन गर्ने र तराई मधेसको जनतालाई प्रकोपबाट सधैंका लागि मुक्त गर्न सशक्त कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । 

यस्तैगरी, सहज आवागमन र सरसामानको ढुवानीका लागि हुलाकी मार्गलाई तराई–मधेस लोकमार्ग नामांकरण गर्दै यथाशीघ्र सम्पन्न गरी थप सडक सञ्जालको निर्माण गर्ने, पूर्व–पश्चिम राजमार्गको समानान्तर आधुनिक रेलमार्गको निर्माण गर्ने राजपाको प्रतिवद्धता छ । 

जनकपुर अन्तराष्ट्रिय पर्यटनस्थल एवं विश्व हिन्दू केन्द्रलाई प्राथमिकता दिंदै जनकपुरको बृहत र चौतर्फी विकासका लागि दक्ष र अनुभवी विशेषज्ञहरुको सहयोगमा आधुनिक गुरुयोजना तयार गरी जनकपुरलाई अन्तर्राष्ट्रिय पर्यटन र आध्यात्मिक केन्द्रको रुपमा विकास गर्ने, जनकपुर विमानस्थललाई सुरुमा क्षेत्रीय र पछि अन्तराष्ट्रिय आधुनिक विमानस्थलको रुपमा स्तरोन्नति गर्ने राजपाको घोषणापत्रमा उल्लेख छ। 

तपाईंको बिचार