Wednesday, September 26, 2018

संगठन चुस्त र दुरुस्त बनाउन आवश्यक : कोइराला

प्रकाशित मिति: 2017/12/13

चितवन ।  नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस पराजय हुनुमा सबै जिम्मेवार रहेको बताएको छन् । 

गैँडाकोटस्थित आफ्नै निवासमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै महामन्त्री कोइरालाले अहिलेको अवस्थामा खण्डित नभई एकीकृत हुनुपर्ने बताए । केन्द्रमा बृहत् छलफल गरेर पार्टीले रणनीति तयार गरी अघि बढ्ने भन्दै कोइरालाले भने,‘नेतृत्व परिवर्तनको विषयमा पहिला छलफल गरौँ, त्रुटि हेरौँ त्यसपछि मात्रै कुरा आउँछ।’

पार्टीको महामन्त्रीको हिसाबले निर्वाचनमा पराजय भएकामा आफू पनि जिम्मेवार भएको उनले बताए। अब कांग्रेसले के गर्छ भन्ने जिज्ञाशामा कोइरालाले भने,‘केन्द्रीय समितिमा छलफल हुन्छ। संगठनलाई अब चुस्त र दुरुस्त बनाउनतर्फ लाग्नुपर्छ। परिवर्तन गर्नुपर्छ भन्ने भनाइ हो।’ उनले क्रियाशील सदस्यता वितरण त्रुटिपूर्ण देखिएको भन्दै त्यसमा ध्यान दिनुपर्ने बताए।

महामन्त्री कोइरालाले आगामी दिनमा संगठनलाई सुदृढ गर्दै विधानमासमेत परिवर्तन गर्न आवश्यक रहेको बताए। हार बेहोर्नुको मुख्य कारण वाम गठबन्धन र पार्टीभित्रको संगठन चुस्त–दुरुस्त नभएको भन्दै उनले भने, ‘हतास हुनु हुँदैन, संगठित भएर नेता कार्यकर्ता लागे कांग्रेसको भविष्य उज्ज्वल छ।’

अहिले कांग्रेस हार्दा विश्वका विभिन्न देशले पनि चासो राखेको भन्दै कोइरालाले ७० वर्षको इतिहास बोकेको कांग्रेस हार्दा मित्रराष्ट्रहरु पनि चिन्तित बनेका बताए। उनले भने,‘भारतका नेताले अब तपाईंहरुको अवस्था हाम्रो देशको कांग्रेस आईको जस्तो नहोस् भन्दै हामीलाई समीक्षा गरेर अघि बढ्न सुझाव दिएका छन्।’ –रासस

तपाईंको बिचार