Friday, May 24, 2019

विवेकशील साझाका उम्मेदवार रामहरि अधिकारीले दिए मतदातालाई धन्यवाद

प्रकाशित मिति: 2017/12/19

 काठमाडौं । विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौं क्षेत्र नं ५ (क)को प्रदेशसभा उम्मेदवार रामहरि अधिकारीले मतदातालाई धन्यवाद दिएका छन् ।  अधिकारीले प्रेस विज्ञप्ती जारी गर्दै मतदाता, नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुक, समर्थक, स्वयंसेवी, संचारकर्मी, सुरक्षाकर्मी तथा निर्वाचन आयोगप्रति धन्यवाद सहित आभार प्रकट  गरेका छन् । 

गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा उनले काठमाडौं ५ कबाट चार हजार २१ मत प्राप्त गरेका थिए । साथै उनले विजयी उम्मेदवार नेकपा एमालेका नेता नारायण सिलवाललाई पुन बधाई पनि दिएका छन् । 

पार्टी निर्माणको प्रक्रिया सुरु भएको ४ महिनामैं विना संगठन उम्मेदवारी दिएर पनि विवेकशील साझा  पार्टीलाई मतदाताले भरपर्दो विकल्पका रूपमा हेरेको भन्दै उनले त्यसबाट आफु निकै खुसी भएको बताए । “यो पटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व” नाराका साथ चुनावमा होमिएको विवेकशील साझा राष्ट्रिय पार्टी भने बन्न सकेन । राष्ट्रिय पार्टी बन्न प्रत्यक्षतर्फ कम्तिमा एउटा सिट  र समानुपातिकतर्फ कम्तिमा ३ प्रतिशत मत प्राप्त गर्नु पर्ने प्रावधान छ । 

“नेपालको राजनीतिक इतिहासमा यति छोटो समयमा कुनै पनि पार्टी उदाएको थिएन। उनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ, अब देशभरी अभिव्यक्त सद्भावलाई संगठनमा बदलेर अर्को चुनावपश्चात् यो देशको नेतृत्व गर्नका लागि आफुहरूलाई तयार पार्नु हाम्रो चुनौति हुनेछ। यो देश बनाएरै छोड्ने हाम्रो अठोटमा भविष्यमा पनि सबैको साथ र समर्थन रहने छ भन्नेमा हामी विश्वस्त छौ । 

त्यस्तै अधिकारीले बेथिति,अराजकता र विकृति सुधार भएन, देश विकास र सुशासनको बाटोमा अघि बढेन भने पाँच वर्षपछि स्थिति अर्कै हुन्छ भन्ने संकेत समेत मतदाताले दिइसकेको भन्दै जिम्मेवार पूर्वक काम गर्न पनि विजयी उम्मेदवारहरुलाई आग्रह गरे । 

अधिकारी विगत लामो समय देखि सामाजिक सेवाको क्षेत्रमा पनि क्रियाशिल छन् । उनले निर्वाचनबाट प्राप्त मतबाट कत्तिपनि बिचलित नभई आगामी दिनमा सामाजिक सेवा र विकास निर्माणको अभियानमा आफु दत्तचित भएर लाग्ने प्रतिवद्धता पनि जनाएका छन् । 

तपाईंको बिचार