Wednesday, September 26, 2018

डा. शेखर कोइराला केन्द्रीय सभापति हुन इच्छुक

प्रकाशित मिति: 2017/12/22

विराटनगर ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टी केन्द्रीय समितिको बैठक तत्काल बोलाउन माग गरेका छन् । एक हप्ताभित्र केन्द्रीय समितिको बैठक नबोलाए हस्ताक्षर अभियान संकलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

कोइराला निवासमा शुक्रबार बिहान नेपाल प्रेस युनियनसमर्थक सञ्चारकर्मीसित केन्द्रीय सदस्य कोइरालाले आफू केन्द्रीय सभापति हुन इच्छुक रहेको बताएका हुन्। 

उनले भने, ‘केन्द्रीय समितिको बैठक बोलाउन किन ढिला गरिएको हो मैले बुझेको छैन। तुरुन्त बोलाउनु पर्छ भन्ने हाम्रो माग छ ।’ स्थानीय तहको पुनःसंरचनापछि नेपाली काङ्ग्रेसको साङ्गठनिक स्वरूपमा पनि परिवर्तन आवश्यक रहेको कोइरालाको भनाई थियो। शेखरका अनुसार नवनिर्मित स्थानीय तहमा पार्टीका नयाँ कार्यसमितिहरू बनाउनु छ। पार्टीलाई प्रादेशिक संरचनामा लैजानु छ। त्यसका लागि विधानमा संशोधन आवश्यक हुन्छ । त्यसैले पनि महासमितिको बैठक गरिहाल्न जरुरी छ।

विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमसित एकता भएपछि त्यस पार्टीका विभित्र तहका पदाधिकारीलाई समायोजन गर्न पनि नयाँ सङ्गठनको निर्माण आवश्यक रहेको उनको भनाई थियो। काङ्ग्रेस केन्द्रीय समितिको बैठक सकिएपछि आफू देश दौडाहामा निस्कने कोइरालाले जानकारी दिए।आगामी ५ वर्ष नेपाली काङ्ग्रेस विपक्षमै बसेर आफ्नो सङ्गठन निर्माणमा सक्रिय हुनुपर्ने उल्लेख गर्दै शेखरले ५ वर्ष प्रतिपक्षमा बसेमात्र गन्तव्यमा पुग्न सकिने बताए।

उनले भने, ‘जसले जे भने पनि यो वाम गठबन्धन नै हो। अर्कातिर हामी दुई ठूला छिमेकी, एउटा लोकतान्त्रिक र एउटा वाम शक्तिका बीचमा छौं। यहाँ उनीहरूले खेल्ने मौका पाउँछन् कि भत्रे शङ्का पनि छ। त्यस्तो खेल भयो भने देशलाई अप्ठ्यारो पर्न सक्छ। तर उहाँहरूले एकदलीय तानाशाहीको बाटोबाट अलग राखेर मुलुकलाई लोकतान्त्रिक धारमा लैजान खोज्नु भयो भने राम्रो हुन्छ।’

तपाईंको बिचार