Wednesday, June 20, 2018

वैद्य माओवादीले कम्युनिस्ट समूहहरुको एकतामा जोड दिने

प्रकाशित मिति: 2017/12/26

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले संगठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ । उसले समाजवाद तथा साम्यवादमा जान चाहने कम्युनिस्ट समूहहरुको एकतामा जोड दिँदै वार्ता तथा संवाद अघि बढाउने निर्णयसमेत गरेको छ ।

पुस ६ गतेदेखि ९ गतेसम्म चलेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै वैद्य माओवादीले संगठन विस्तार र जनपरिचालनसम्बन्धी तीन महिने अभियान सञ्चालन गर्ने जानकारी दिएको छ ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा वैद्य माओवादीले भाग लिए पनि उसले कुनै पनि क्षेत्रमा जमानत जोगाउन सकेको थिएन । तर, उसको केन्द्रीय समिति बैठकले निर्वाचन उपयोगको नीतिमा पार्टी सही सावित भएको निष्कर्ष निकालेको छ । यद्यपि, उसले निर्वाचन प्रक्रियामा सहभागी हुँदा कमी कमजोरी भएको स्वीकारेको छ । तर, पार्टीले गरेको कमजोरी के हो भन्नेबारेमा केही पनि खुलाएको छैन ।

बैठकले पोलिटव्युरो र स्थायी समिति सदस्यको चयन गर्नुका साथै केन्द्रीय सदस्यहरुको कार्यविभाजनसमेत गरेको जनाएको छ ।

तपाईंको बिचार