Friday, January 19, 2018

वाम गठबन्धनको सबैमा ६०/४० कै भागबन्डा

प्रकाशित मिति: 2018/01/12

काठमाडौं । वाम गठबन्धनले राष्ट्रिय सभाको चुनाव, प्रदेश मुख्यमन्त्री र सभामुख पदमा पनि यसअघिकै जस्तो ६० र ४० प्रतिशतका आधारमा भागबन्डाको तयारी गरेका छन् । एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवार, प्रदेश सरकार गठनलगायत विषयमा मापदण्ड तयार गर्न बनाएको कार्यदलले विगतको सहमतिकै आधारमा छलफल अघि बढाएको छ ।

यसअघि प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एमालेले ६० र माओवादीले ४० प्रतिशत भागबन्डा गरी उम्मेदवार तय गरेका थिए । प्रतिनिधिसभा चुनावको परिणाम भने ७० र ३० को अनुपातमा आएको थियो । कार्यदलको शुक्रबार बसेको बैठकले चारवटा आधार तयार बनाएर छलफल गर्ने निष्कर्ष निकालेको छ । कार्यदल सदस्य एवं एमाले नेता सुवास नेम्बाङका अनुसार प्रदेशगत रूपमा पार्टीको अवस्था, पार्टी एकताको भावना, सम्बन्धित पदका लागि आवश्यक योग्यता र समावेशी सन्तुलनलाई ख्याल गरेर उम्मेदवार तय हुनेछ ।

‘स्थानीय तह र प्रदेशसभा चुनावमा पाएको मतलाई आधार मानेर हेरिनेछ,’ बैठकपछि नेता नेम्बाङले सञ्चारकर्मीसँग भने, ‘कुन पदका लागि को व्यक्ति योग्य हो भन्ने पनि ख्याल गरिनेछ ।’ प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना उम्मेदवार तय गर्नुपर्नेछ ।

६० र ४० प्रतिशत भागबन्डा गरे एमालेको भागमा ३३ र माओवादीको भागबाट २३ जना उम्मेदवार हुनेछ । प्रदेशको मुख्यमन्त्री र सभामुखको हकमा यो मापदण्डअनुसार एमालेको भागमा ४÷४ र माओवादीको भागमा २÷२ जना पर्नेछन् । 

तपाईंको बिचार