Tuesday, February 19, 2019

आज वाम कार्यदलले मुख्यमन्त्री र सभामुखको बाँडफाँट टुंग्याउने

प्रकाशित मिति: 2018/01/28

काठमाडौं । मुख्यमन्त्री र प्रदेश संसदका सभामुख तथा उपसभामुख पद बाँडफाँट टुंगो लगाउन वाम गठबन्धनको संयुक्त कार्यदल बैठक आज बस्दैछ । राष्ट्रियसभाको सिट संख्या टुंगो लगाएको कार्यदलले प्रदेश सरकारमा कुल सांसद संख्याका १० प्रतिशतमात्र मन्त्री बनाउने सहमति गरिसकेको छ ।

कार्यदलले मुख्यमन्त्री, सभामुख र मन्त्रालयहरुको बाँडफाँट टुंगो लगाउनुअघि कार्यदलका संयोजक सुवास नेम्वाङ र रामबहादुर थापा ‘बादल’ले केपी शर्मा ओली र प्रचण्डसँग छलफल गरेका थिए । कार्यदल बैठकमा वामपन्थी गठबन्धनको बहुमत रहेका ६ प्रदेशमध्ये माओवादीले २ प्रदेशमा मुख्यमन्त्री र ४ प्रदेशमा सभामुख मागेको छ । माओवादीले जसको मुख्यमन्त्री हुन्छ सो प्रदेशको सभामुख अर्को पार्टीको हुनुपर्ने प्रस्ताव गरेको छ । एमालेले भने सिट संख्याका आधारमा प्रदेशको मुख्यमन्त्री बाँडफाँट गर्ने प्रस्ताव राखेको छ । 

वामपन्थी बहुमत रहेका ६ वटा प्रदेशमध्ये एमालेले ४ र माओवादीले २ मुख्यमन्त्री पाउँदा ६०÷४० को अवधारणाअनुसार हुने माओवादी नेताहरुको दावी छ । त्यसो हुँदा ३ प्रदेशको सभामुख लिन माओवादी राजी हुने देखिएको छ ।

प्रदेश सरकारको मन्त्रिपरिषदमा पनि ६०÷४० को अनुपातमा दुवै दलको प्रतिनिधित्व हुनुपर्ने माओवादीको प्रस्ताव छ । यी सबै विषयमा छलफल गरेर सहमतिमा टुंगो लगाइने कार्यदलका संयोजकले बताएका छन् । वाम कार्यदलको बैठक आइतबार बिहान ११ बजे एमाले दलको कार्यालय सिंहदरवारमा बस्ने तयारी भइरहेको छ ।

तपाईंको बिचार