Monday, June 17, 2019

राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारको नामावली प्रकाशन हुने

प्रकाशित मिति: 2018/01/28

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि यही माघ २४ गते हुन गईरहेको निर्वाचनको लागि आज उम्मेदवारहरुको नामावली प्रकाशन हुने भएको छ ।

निर्वाचन आयोगले गत बुधबार राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन दर्ता गराएको थियो । उम्मेदवारी दर्तापछि उजुरी गर्न समय दिएको आयोगले त्यसको छानबिन सकेलगत्तै नामावली प्रकाशन गर्न लागेको हो । आयोगले शनिबार उम्मेदवारविरुद्ध परेका उजुरीमाथि निर्णय गरिसकेको छ । आयोगमा विभिन्न उजुरी परेका भएपनि १ जनाको मात्रै उम्मेदवारी खारेज भएको छ । वाम गठबन्धनको तर्फबाट प्रदेश ४ को अपांग तथा अल्पसंख्यक कोटामा उम्मेदवारी दिएका रामबहादुर थापाको उम्मेदवारी खारेज भएको हो ।

निर्देशिकाअनुसार थापाले अपांग परिचयपत्र नलिएको भन्दै उनीसँगै प्रतिस्पर्धामा रहेका कांग्रेसका प्रकाश पन्थले उजुरी गरेका थिए । छानबिनबाट आरोप प्रमाणित भएपछि आयोगले खारेजीको निर्णय लिएको हो ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार, उम्मेदवारी दर्ता गराएकाहरुको अन्तिम नामावली प्रकाशन गर्न लागेको आयोगले उम्मेदवारी फिर्ताका लागि आइतबार दिउँसो १ बजेदेखि सोमबार दिउँसो २ बजेसम्मको समय दिएको छ । यो बीचमा इच्छुक उम्मेदवारहरुले उम्मेदवारी फिर्ता सक्नेछन् । सोमबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । 

तपाईंको बिचार