Wednesday, October 23, 2019

वामगठबन्धनले संविधान संशोधन गर्ने भए सरकारमा सहभागी हुन्छौं : उपेन्द्र

प्रकाशित मिति: 2018/01/28

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि वाम गठबन्धन तयार भए आफूहरु सरकारमा सहभागी हुन तयार रहेको स्पष्ट पारेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले संविधान संशोधनका मुद्दाका बारेमा गठबन्धनले स्पष्ट धारणा दिनुपर्ने र उक्त धारणासँग आफूहरु सहमत भएको खण्डमा सरकारलाई सहयोग गर्न तयार रहेको बताएका हुन् ।

यादवले एमाले–माओवादी नेतृत्वको बाम गठबन्धनले सरकार चलाउनका लागि स्पष्ट जनादेश पाएकाले आफूहरु सरकारमा जान आवश्यक भने नरहेको जिकिर गरे ।  “हाम्रो पार्टीले सरकारमा जाने जनादेश पाएको छैन । तर गठबन्धनले हाम्रो आवश्यकता महशुस गर्यो भने हामी सहभागी हुन तयार छौँ”–यादवले भने । “उनीहरुको बहुमत छ हामी किन सरकारमा जाने ? बहुमत नभएको भए सहयोगको आवश्यकता पर्न सक्थ्यो ।”

आफूहरु अहिलेपनि आन्दोलनरत पक्ष भएकाले संविधान संशोधनको मुद्दा छिनोफानो नभएसम्म सरकारमा सहभागी हुन नसक्ने उनको भनाई थियो । प्रदेश नम्बर २ मा भने फोरमको नेतृत्वमा सरकार बन्ने उनले दाबी गरे । उनले भने,‘२ नम्बर प्रदेशमा राजपासँगको सहकार्यमा हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्छ, यसमा कुनै दुईमत छैन् ।’ प्रदेश नम्बर दुईको विकासका लागि केन्द्रिय सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाई छ । 

तपाईंको बिचार