Monday, June 17, 2019

राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु

प्रकाशित मिति: 2018/02/05

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आजदेखि मौन अवधि सुरु भएको छ। राष्ट्रियसभा सदस्यका उम्मेदवारले आइतबारसम्म निर्वाचनको अन्तिम प्रचारप्रसार गरेका छन्। आजदेखि कुनै पनि प्रचारात्मक गतिविधि गर्न पाइने छैन।

मौन अवधि सुरु भएपछि निर्वाचन सम्पन्न नहुँदासम्म कुनै पनि उम्मेदवारले निर्वाचनलाई प्रभावित पार्ने गतिविधि गर्न पाउने छैनन्। मौन अवधिको पालना उम्मेदवार, राजनीतिक दल तथा सञ्चारमाध्यमले समेत पालना गर्नु पर्नेछ।  एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यम र सामाजिक सञ्जालबाट मत माग्न पनि निर्वाचन आयोगले प्रतिवन्ध लगाएको छ।

मौन अवधिमा आचारसंहिता उल्लङ्घन गरेमा निर्वाचन आयोगले सुरुमा सचेत गराउँछ । आयोगको सचेत गराउँदा पनि बेवास्ता गरेमा उम्मेदवार र दललाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ। आयोगले मौन अवधि उल्लङ्घन गरे उम्मेदवारी रद्द गर्न समेत सक्नेछ। आचारसंहिता राजनीतिक दल, उम्मेदवार, दलका कार्यकर्ता, निर्वाचनमा खटिने कर्मचारी सबैले पालना गर्नु पर्नेछ।

तपाईंको बिचार