Monday, August 26, 2019

आज ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता

प्रकाशित मिति: 2018/02/12

काठमाडौं । एमाले र माओवादी केन्द्रबीच आज प्रमुख दुई नेता केपी शर्मा ओली र प्रचण्डबीच ‘वान टु वान’ वार्ता भएको छ ।

नेताहरुले केही दिनमै ‘छिट्टै पार्टी एकता’ हुने सन्देश दिने बताएका छन् । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्ड ललितपुरको मानभवनस्थित शारदाप्रसाद अधिकारीको निवासमा वार्ता भएको हो । वार्तामा के भयो भन्ने दुवै पक्षले गोप्य राखेका छन् । 

तर, दुवै दलका नेताहरुले शीर्ष दुई नेताबीच भएको संवाद सकारात्मक रहेको बताएका छन् । स्रोतका अनुसार दुई नेताबीच नेतृत्वको मोडालिटीबारे छलफल भइरहेको छ तर, टुंगिएको छैन । भोलि पनि ओली र प्रचण्डबीच भेटवार्ता हुनेछ । दुई नेताबीच सहमति भए पर्सी पार्टी एकता संयोजन समितिको बैठक बसेर छिट्टै पार्टी एकता हुने सन्देश दिने तयारी गरिएको बुझिएको छ । 

माओवादीले ओली प्रधानमन्त्री र प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष हुने सहमति भएको दाबी गर्दै आएको छ । तर, ओली तत्काल अध्यक्ष पद हस्तान्तरण गर्ने पक्षमा देखिएका छैनन् । पछिल्लो पटक एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादीलाई अध्यक्ष दिने र महासचिव एमालेले राख्ने प्रस्ताव अघि सारेका छन् । ०४७ मा माले र मार्क्सवादी एकीकरण गर्दा जस्तो सेरेमोनियल अध्यक्ष र शक्तिशाली महासचिव बनाउने उनको प्रस्ताव छ ।

ओली र प्रचण्ड दुई सहअध्यक्ष बन्ने प्रस्ताव  (संक्रमणकालका लागि संयुक्त नेतृत्वको व्यवस्था) पनि छलफलमा छ । एकीकृत पार्टीमा तत्काल प्रचण्ड वा ओलीको एकल नेतृत्व सम्भव नभएको भन्दै स्रोतले भन्यो, यसकै छेउछाउ त्यतातिर पो जानुपर्छ कि भन्ने छ ।’

माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले एकताबारे सकारात्मक छलफल भइरहेको बताएका छन् । उनले भने, ‘सरकार गठन अगाडि पार्टी एकताको प्रारुप तयार हुन्छ । सरकार गठन भएपछि केही समयमा नै पार्टी एकता घोषणा हुन्छ ।’

तपाईंको बिचार