Thursday, June 27, 2019

उपेन्द्र यादब पनि ओली सरकारमा जान तयार, आज चार मन्त्रीको सपथ हुने

प्रकाशित मिति: 2018/02/26

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारमा जान सहमत भएका छन्। बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सोमबार बिहान भएको वार्तापछि यादव सरकारमा आउन सहमत भएका हुन् ।

सरकारमा जाने सहमतिबारे साथीहरूसँग छलफल गरेर फर्किने भन्दै केहीबेरअघि यादव बालुवाटारबाट निस्किएको बालुवाटार स्रोतले बतायो। संविधान संशोधनबारे ‘आपसी छलफलद्वारा सहमति कायम गरी आवश्यक संविधान संशोधन गर्न सकिने छ’ भन्ने वाक्य लेख्न एमाले, माओवादी र फोरम सहमत भएका छन्।

फोरम सरकारमा सहभागी हुन दुई मन्त्रालय पाउनु पर्ने माग राखेको छ। तर मन्त्रालयको टुङ्गो लागि नसकेको माओवादी केन्द्रका एक नेताले जानकारी दिए। उपेन्द्र यादव आफैं परराष्ट्रमन्त्रीको रूपमा सरकारमा सहभागी हुने लगभग सहमति भएको छ।

फोरम पनि सरकारमा आउने भएपछि एमाले र माओवादीबीच पहिला टुङ्गो लागेका मन्त्रालयको भागबन्डा फेरिने भएको छ। फोरमले पाउने मन्त्रालयको संख्या टुङ्गो लागेपछि माओवादी र एमालेको मन्त्रालय संख्या पनि टुङ्गो लाग्नेछ।

नयाँ राजनीतिक विकासले गर्दा मन्त्रिपरिषद् आज पूर्ण रूपमा विस्तार नहुने बालुवाटार स्रोतले जनायो। ‘सम्भवतः आज एमाले र माओवादीका दुई÷दुई जना मन्त्रीले मात्र सपथ लिनेछन्’, स्रोतले भन्यो।

तपाईंको बिचार