Monday, June 17, 2019

संविधान संशोधन गर्न एमाले तयार, फोरमसँग सहमतिपत्रमा हस्ताक्षर हुने

प्रकाशित मिति: 2018/02/27

काठमाडौं । संघीय समाजवादी फोरम, नेपाल सरकारमा सहभागी हुने विषयमा नेकपा एमाले र माओवादी केन्द्रसँग पटक–पटक छलफल भएको छ । 

दुई तिहाई बहुमत सरकारको नेतृत्व गर्ने सोचमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्ने सहमतिमा हस्ताक्षर गर्ने भएका छन् । त्यसका लागि एमाले र संघीय समाजवादी फोरमका नेताहरुबीच विभिन्न चरणमा वार्ता भएका छन् ।

फोरमसँग वार्तामा रहेका एमाले नेता सुवास नेम्वाङका अनुसार बुधबारसम्म सहमतिका बुँदामा हस्ताक्षर हुनेछ । नेम्वाङले भने ‘हामी सकारात्मक ढंगले छलफलमा बसेका छौं । बुधवारसम्म सहमति हुन्छ । त्यसपछि कुन कुन विषयमा संविधान संशोधन गर्ने भन्ने टुंगो लाग्छ ।’

दुवै पक्षले आ–आफ्नो पक्षबाट सहमतिको मस्यौदा गरिरहेका छन् । कुन कुन बुँदामा संविधान संशोधन गर्ने भनेर दुवै पक्षले खुलाएका छैनन् । बुधबार शीर्ष तहबाट सहमति जुटाएपछि सहमतिमा हस्ताक्षर हुने र फोरम सरकारमा सहभागी हुने सम्भावना रहेको छ । 

तपाईंको बिचार